© 2026
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउने काम सम्पन्न भएपछि दिउँसो करिब ३ः३० बजेदेखि सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो ।
यसअघि दिउँसो २ः१० बजेदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउन डोजर तथा अन्य उपकरण परिचालन गरिएको थियो ।
सोमबार बिहान पनि यही सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो । त्यसपछि पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
वर्षा यामका कारण पहिरोको जोखिम कायम रहेकाले सडक डिभिजन कार्यालयले उक्त सडक खण्डमा यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।