© 2026
गण्डकी । काली गण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।
पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरुद्ध छ । पहिरो हटाउने काम सुरु गरिएको छ । ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन हुन केही समय लाग्ने देखिन्छ, उनले भने ।
उक्त सडक खण्डमा आइतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो ।
बेनी–जोमसोम सडक भएर सयौँ यात्रु तथा पर्यटकले मुक्तिनाथ हुँदै कोरला नाकासम्म यात्रा गर्ने गर्छन् ।