Butwal Today

डार्फरमा ड्रोन आक्रमण : नागरिक अदालतमा हमला हुँदा ३५ जनाको मृत्यु

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

सुडान । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा भएको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ।

सुडानमा भएका अत्याचारहरूको दस्तावेजीकरण गर्दै आएको स्वतन्त्र समूह इमर्जेन्सी लयर्स का अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयलाई ड्रोनमार्फत निशाना बनाइएको हो। उक्त अदालतले स्थानीय स्तरमा न्यायिक तथा सामाजिक भूमिका निर्वाह गर्दै आएको बताइएको छ। समूहले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै नागरिक तथा सार्वजनिक संस्थामाथिको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको जनाएको छ।

सुडानमा सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (RSF) बीच भीषण युद्ध जारी छ। सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्यांक (ACLED) का अनुसार हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भइसकेको छ। यद्यपि सहायता संस्थाहरूले वास्तविक मृतक संख्या यसभन्दा धेरै बढी हुन सक्ने बताएका छन्।

युद्धमा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको छ र दुवै पक्षले एकअर्कामाथि ड्रोन आक्रमण गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ को पहिलो चार महिनामा सुडानमा भएका नागरिक मृत्युको करिब ८० प्रतिशत युद्धकै कारण भएको छ। यस घटनाबारे प्रतिक्रिया मागिए पनि सुडानी सेनाले कुनै टिप्पणी नगरेको समाचार संस्था एपीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?