Butwal Today

सुस्ता : एसएसबीको प्रवेशपछि तनाव, स्थानीयको प्रतिकार

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

नवलपरासी ।

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि  तनाव उत्पन्न भएको छ ।

स्थानीय सन्जित शर्माका अनुसार आइतबार दिउँसो करिब ३ : ३० बजे सादा पोसाकमा आएका करिब १५ जना भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेका थिए । त्यसपछि स्थानीयले प्रतिकार गरेपछि हतियारसहित थप सुरक्षाकर्मी घटनास्थलमा पुगेको उनको दाबी छ । “सुरुमा सिभिल पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थाले । स्थानीयले प्रतिकार गरेपछि झन्डै एक सयको संख्यामा भारतीय सुरक्षा फौज आए र तनाव सिर्जना भयो,” शर्माले बताए ।

स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को थारु टोलमा निर्माण भइरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भारतीय पक्षले भत्काइदिएको हो । उनीहरूले दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरेका छन् ।

यस घटनापछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । भारतीय सुरक्षाकर्मी हतियारसहित आएकाले बाँध जोगाउने प्रयास सफल हुन नसकेको स्थानीयको भनाइ छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले घटना भए पनि अहिले अवस्था सामान्य रहेको जानकारी दिए । “दुवै पक्ष संयमित हुन आवश्यक छ । सीमा सम्बन्धी यस्ता विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ। प्रशासनले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ,”  प्रमुख जिल्ला अधिकारी नेपालले भने ।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएको स्थानीयले बताएका छन् ।

सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा परिचित छ । सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा सीमामा पटक–पटक देखिने विवादका कारण यो क्षेत्र संवेदनशील मानिन्छ । दुवै देशले सिमलको रुखलाई अस्थायी सीमा संकेतका रूपमा स्वीकार गर्दै आएका भए पनि त्यस वरपरको क्षेत्रलाई लिएर विवाद हुने गरेको छ ।

घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थलमा परिचालन गरिएको छ ।

स्थानीयवासीले भने सीमा सुरक्षाको विषयमा नेपाली प्रशासनले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् । यसअघि सुस्तावासीले काठमाडौंमा आन्दोलन गरेपछि गृह मन्त्रालयमा भएको छलफलबाट सीमा क्षेत्रमा सुरक्षा फौजको उपस्थिति बढाउने सहमति भएको थियो । तर समस्या समाधान नभएकाले सुस्ताको सीमा विवादको दीर्घकालीन समाधान आवश्यक रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?