Butwal Today

क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

कोलम्बो । क्षमताभन्दा बढी कैदी बन्दी रहेको श्रीलङ्काको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरिएको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो ।

‘शान्ति–व्यवस्था पुनः स्थापना गर्न र कैदीहरूलाई कोठामा फर्काउन सशस्त्र बल तथा विशेष कार्यदल (एसटीएफ) का कमान्डोको सहयोग लिइएको छ,’ मेदावाट्टेले जेलबाहिर पत्रकारहरूसँग बताएका छन् । उनका अनुसार दङ्गाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनः स्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पुर्‍याएका छन् ।

महारा जेलमा चार हजार १०० कैदी बन्दी राखिएका थिए, जुन जेलको क्षमताभन्दा करिब चार गुणा बढी हो । श्रीलङ्काका अन्य कारागारमा पनि क्षमताभन्दा बढी कैदी राख्ने समस्या रहेको अधिकारीहरूले बताएका छन् ।

सन् २०२० को नोभेम्बरमा पनि यही जेलमा भएको दङ्गाका क्रममा गोली चल्दा ११ कैदीको मृत्यु भएको थियो भने करिब १२० जना घाइते भएका थिए । पछिल्लो घटना सोही क्षेत्रको अर्को जेलमा भएको दङ्गाको करिब एक महिनापछि भएको हो । उक्त घटनामा १० सुरक्षाकर्मी र २१ कैदीको मृत्यु भएको थियो ।

गत महिना श्रीलङ्काली अधिकारीहरूले प्रयोगविहीन सरकारी भवनलाई जेलमा परिणत गर्ने योजना सार्वजनिक गरेका थिए । देशका जेलमा रहेका कैदीमध्ये तीन चौथाइभन्दा बढी मुद्दाको फैसला पर्खिरहेका पुर्पक्षका बन्दी रहेको र उनीहरूमध्ये अधिकांश लागुऔषधसम्बन्धी कसुरमा थुनामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?