© 2026
सिराहा । सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गाउँ पुर्याइएको छ। पोष्टमार्टम सम्पन्न भएपछि साँझ करिब ६:३० बजे शवलाई हेलिकप्टरबाट औरही गाउँपालिका–२, तुलसियाही गाउँमा ल्याइएको हो। त्यसपछि एम्बुलेन्समार्फत शवलाई परिवारको घर लगिएको छ।
परिवारले हिन्दु परम्पराअनुसार अन्त्येष्टिपूर्वका धार्मिक विधि सम्पन्न गरेपछि गागन खोलाको किनारमा आजै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ। गणेश यादवको बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका थिए।
यस घटनापछि सिरहासहित मधेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको निष्पक्ष छानबिन र सहमतिका बुँदाहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ।