दोहा–कतार । ठकुरी समुदायको साझा सामाजिक संस्था ठकुरी सहयोग सञ्जाल कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र शाही ठकुरीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
शुक्रबार दोहास्थित प्लाजा मलको मेस क्याफे रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ निवासी महेन्द्र शाही ठकुरीलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्दा शाही ठकुरी, प्रथम उपाध्यक्षमा धनकुमार मल्ल ठकुरी, द्वितीय उपाध्यक्षमा लक्ष्मण शाही ठकुरी, महिला उपाध्यक्षमा सबिना मल्ल ठकुरी, महासचिवमा सुरत शाही ठकुरी, सचिवद्वयमा कमल शाही ठकुरी र राजेन्द्र मल्ल ठकुरी, कोषाध्यक्षमा नमराज शाही ठकुरी तथा सह,कोषाध्यक्षमा बसन्ती मल्ल ठकुरी चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विपिन सिंह ठकुरी, दिलबहादुर शाही ठकुरी, लालसरा शाही ठकुरी, तपेन्द्र शाही ठकुरी, गीता शाही ठकुरी, ज्ञानबहादुर शाही ठकुरी, कमलकुमार शाही ठकुरी, खगेन्द्र शाही ठकुरी, छत्र शाही ठकुरी र धर्म बहादुर शाही ठकुरी चयन भएका छन्। एक सदस्य पद रिक्त रहेको छ ।
नयाँ कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ। निर्वाचन समितिका संयोजक केबी हमालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
सञ्जाल कतारका अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभा अध्यक्षता तथा प्रमुख संरक्षक रेशम शाही ठकुरीको विशिष्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। १२औँ वार्षिकोत्सवको अवसरमा केक काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको कार्यक्रममा जिया हमालले स्वागत नृत्य पेश गरेकी थिइन् ।
संस्थाका महासचिव सुरत शाही ठकुरीले दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कतार र नेपालमा विभिन्न सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गरेको जानकारी दिए।
कर्णाली प्रदेश समन्वय परिषद् कतारले कर्णालीको मौलिक सांस्कृतिक पहिचान बोकेको ‘मयुर नाच’ सामूहिक रूपमा प्रस्तुत गरेको थियो। परम्परागत पहिरन र बाजागाजासहित प्रस्तुत गरिएको नृत्य कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो।
अधिवेशनमा कतारस्थित विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै ठकुरी सहयोग सञ्जालले प्रवासमा सामाजिक एकता, सहकार्य र मानवीय सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा कलाकार सुजाता थापा मगर, सुष्मा तामाङ, सुनिता विश्वकर्मा, रोजिना गुरुङ र मिलन गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए भने साहित्यकार बाबुराम नेपालले गजल वाचन गरेका थिए। संस्थाले आफ्ना विभिन्न कार्यक्रम तथा सामाजिक अभियानमा आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग पुर्याउने कलाकार, पत्रकार तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो।
प्रमुख संरक्षक रेशम शाही ठकुरीले संस्थाले स्थापना कालदेखि नै परोपकारी तथा सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीले स्थानीय कानुनको पूर्ण पालना गर्दै आपसी सद्भाव, एकता र सहयोगको भावना कायम राख्नुपर्नेमा जोड दिए। आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास उनले व्यक्त गरे।
समापन मन्तव्यका क्रममा अध्यक्ष खगेन्द्र शाही ठकुरीले नयाँ नेतृत्वले संस्थाको उद्देश्यलाई थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
जातीय संस्थाका रूपमा स्थापना भए पनि मानव कल्याण, भाषा, कला र संस्कृतिको संरक्षण तथा अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्दै संस्थाको गरिमा र पहिचानलाई अझ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गर्दै उनले आफ्नो दुई वर्षे कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।