© 2026
नयाँदिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताएका छन् । ती प्रदर्शनले उनको सरकारमाथि पछिल्ला वर्षयताकै ठुलो राजनीतिक दबाब सिर्जना गरेको थियो ।
परीक्षाको प्रश्न पत्र चुहावटसम्बन्धी विषयलाई लिएर अनलाइन समूह ‘कक्रोच जनता पार्टी’९सीजेपी०ले नयाँदिल्लीसहित विभिन्न सहरमा प्रदर्शन आयोजना गरेको थियो । ती प्रदर्शनहरू बेरोजगारी र सुशासनसम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन् ।
प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोडमोड गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ ।
“जन्तर मन्तरमा के भयो भन्ने कुरा देश र विश्वले देख्यो । केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरे,” ७५ वर्षीय मोदीले शुक्रबार राति इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियो सन्देशमा भने ।
“ती शब्दहरू मप्रति मात्र होइन, मेरी दिवङ्गत आमाप्रति पनि लक्षित थिए । तर म उनीहरूलाई माफ गर्न चाहन्छु,” मोदीले भने ।
प्रदर्शनकारीविरुद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवावस्थामा हुने गल्तीलाई कानुनी कारबाहीभन्दा पनि मार्गदर्शनमार्फत सुधार गर्नुपर्ने बताए ।
गत महिना सुरु भएको प्रदर्शन सुरुमा परीक्षाको प्रश्न पत्र चुहावटको विरोधमा केन्द्रित थियो । पछि यो बेरोजगारी र शासन प्रणालीप्रतिको असन्तुष्टिसँग जोडिँदै व्यापक आन्दोलनमा परिणत भएको थियो, जसको दबाबपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए ।
प्रदर्शन सुरु भएयता मोदीले युवासँग संवादका लागि इन्स्टाग्रामको प्रयोग बढाएका छन् । यही सामाजिक सञ्जालमार्फत सीजेपीले पनि ठुलो समर्थन जुटाएको थियो ।
मोदीको सत्तारुढ दलसँग सम्बन्धित इन्स्टाग्राम खातामा करिब ९६ लाख फलोअर्स छन् भने गत मे महिनामा स्थापना भएको सीजेपीको खातामा दुई करोड ६० लाखभन्दा बढी फलोअर्स रहेको जनाइएको छ ।