© 2026
पाल्पा ।
पाल्पामा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । जिल्ला अदालत पाल्पाका अनुसार गत आर्थिक वर्षमा ६४५ वटा मुद्दा दर्ता भएकामध्ये ५ सय ५५ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा किनारा लागेका छन् । अघिल्लो आर्थिक वर्षमा भने ४ सय ३३ वटा यस्ता मुद्दा दर्ता भएका थिए ।
अदालतका श्रेस्तेदार केशव पराजुलीका अनुसार सम्बन्धविच्छेदका लागि अदालत पुग्ने दम्पतीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार अदालतले मेलमिलापमार्फत धेरै दम्पतीलाई पुनः एकताबद्ध गराउने प्रयास गर्दै आएको छ । हालै सम्बन्धविच्छेदका लागि आएका पाँच जोडीलाई मेलमिलाप गराई घर फर्काइएको उनले जानकारी दिए ।
सम्बन्धविच्छेदका पछाडि वैदेशिक रोजगारी, सामाजिक सञ्जालको बढ्दो प्रयोग, आपसी अविश्वास, पारिवारिक असमझदारी तथा बदलिँदो सामाजिक परिवेशलाई प्रमुख कारणका रूपमा हेरिएको छ ।
बगनासकाली गाउँपालिकाका २६ वर्षीय विपिन राना (नाम परिवर्तन) ले विवाह भएको एक वर्षपछि रोजगारीका लागि खाडी मुलुक गएको बताए । विदेशमा रहेका बेला श्रीमतीले कानुनी प्रक्रियामार्फत सम्बन्धविच्छेदको बाटो रोजेपछि तीन वर्षमै वैवाहिक सम्बन्ध अन्त्य भएको उनको भनाइ छ ।
पूर्वखोला गाउँपालिकाकी सरस्वति विक (नाम परिवर्तन) ले पनि श्रीमान् वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालमार्फत अर्की महिलासँग नजिकिएपछि आफ्नो वैवाहिक सम्बन्ध टुटेको बताइन् । “घरपरिवार धान्न धेरै संघर्ष गरेँ, तर अन्ततः सम्बन्ध जोगाउन सकिनँ,” उनले भनिन् ।
तानसेनस्थित एक निजी विद्यालयमा कार्यरत एक शिक्षिकाले पनि घरायसी विवाद र निरन्तरको असमझदारीका कारण अन्ततः सम्बन्धविच्छेदको निर्णय लिनुपरेको अनुभव सुनाइन् । उनका अनुसार सम्बन्ध जोगाउने प्रयास भए पनि परिस्थिति अनुकूल बन्न सकेन ।
कानुन व्यवसायीहरूका अनुसार अहिले महिला र पुरुष दुवैले कानुनी रूपमा सम्बन्धविच्छेदको अधिकार प्रयोग गर्न सक्ने भएकाले पनि यस्ता मुद्दा अदालतमा बढ्दै गएका छन् । उनीहरूका अनुसार सम्बन्धमा देखिने सामान्य विवादलाई समयमै संवाद र मेलमिलापमार्फत समाधान गर्न सके धेरै परिवार विखण्डन हुनबाट जोगिन सक्छन् ।
अदालतका अधिकारीहरूका अनुसार राष्ट्रिय परिचयपत्र, नागरिकता लगायतका कानुनी प्रक्रियामा वैवाहिक अवस्थाको अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू भएपछि पहिले अनौपचारिक रूपमा छुट्टिएर बसेका दम्पती पनि कानुनी रूपमा सम्बन्धविच्छेद गर्न अदालत पुग्ने क्रम बढेको छ । यसले पनि सम्बन्धविच्छेदका मुद्दाको संख्या बढ्न सहयोग पुगेको उनीहरूको भनाइ छ ।
समाजमा बदलिँदो जीवनशैली, वैदेशिक रोजगारी, प्रविधिको विस्तार र पारिवारिक सम्बन्धमा घट्दो संवादका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएको सरोकारवालाहरूको निष्कर्ष छ । उनीहरूले परिवारभित्र खुला संवाद, आपसी विश्वास र समयमै परामर्श सेवाको उपयोग गर्न सके सम्बन्धलाई दिगो बनाउन सकिने बताएका छन् ।