Butwal Today

बागमतीमा मुख्यमन्त्री बन्ने दौडमा थपलिया अगाडि, एमालेभित्रको शक्ति संघर्ष तत्काल टुंगियो

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई लिएर केही दिनदेखि जारी शक्ति संघर्ष तत्कालका लागि टुंगिएको छ। पार्टी स्रोतका अनुसार संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै मुख्यमन्त्री बनाउने दिशामा सहमति जुटेको छ।

स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरका प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने प्रयास गरे पनि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचित संसदीय दलको नेतृत्व परिवर्तन गर्नु उपयुक्त नहुने अडान लिएपछि थपलियाको पक्षमा निर्णय भएको हो।

यससँगै केही दिनदेखि चलिरहेको नेतृत्व परिवर्तनको प्रयास तत्कालका लागि रोकिएको बताइएको छ। यसअघि एमाले सचिव महेश बस्नेतको सक्रियतामा किरण थापालाई संसदीय दलको नेता बनाउन सांसदहरूको हस्ताक्षर संकलन अभियानसमेत चलाइएको थियो। तर संसदीय दलको औपचारिक बैठक नबसेपछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्न सकेन। संसदीय दलका नेता थपलियाले आफू निर्वाचित नेता भएकाले मुख्यमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताउँदै पार्टीभित्र विधि र प्रक्रियाअनुसार निर्णय हुने विश्वास व्यक्त गरेका छन्।

यता एमाले सचिव महेश बस्नेतले आफ्नो नाम जोडेर प्रकाशित केही समाचारप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र कुनै गोप्य बैठक वा अनधिकृत निर्णय नभएको दाबी गरेका छन्। उनले मुख्यमन्त्री चयन पार्टीको विधि, प्रक्रिया र सर्वसम्मत निर्णयअनुसार हुने बताएका छन्।

यसबीच बागमती प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन निर्णायक बन्न सक्ने छ , सत्ता समीकरणबारे दलहरूबीच थप छलफल जारी रहेको स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?