© 2026
चन्द्रौटा । थापसाका केन्द्रिय उपमहासचिव कमल सिंह चौधरीले थारु जातिको भाषा, संस्कृति, पहिचान र अधिकारका सवाललाई प्रभावकारी ढंगले उजागर गर्नुपर्ने बताएका छन् । थारु पत्रकार संघ नेपाल कपिलवस्तुको बाणगंगामा शनिबार पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थारु समुदायको मौलिक संस्कृति र परम्परा संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो इतिहास, भाषा र पहिचानसँग जोड्न आवश्यक रहेको धारणा उनले राखे । अधिकार प्राप्तिका लागि समुदायभित्र एकता, सचेतना र संगठित पहल आवश्यक रहेको बताउँदै राज्यका हरेक तहमा थारु समुदायको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा थारुले जोडदिए ।
“आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु भनेको केवल परम्परा जोगाउनु होइन, हाम्रो अस्तित्व र अधिकारको रक्षा गर्नु पनि हो,” उनले भने । पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा संगठन सुदृढीकरणका लागि केन्द्रीय समितिले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता समेत उनले व्यक्त गरे ।यस्तै थारु कल्याणकारिणीसभाकी पूर्व केन्द्रिय सदस्य सुमित्रा थारुले पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएकाले थारु पत्रकारहरूले समुदायका वास्तविक समस्या, अवसर र मुद्दालाई प्राथमिकताका दिनुपर्ने बताईन् ।
अग्रज पत्रकार उमाशंकर थारु, थापसा कपिलवस्तुका पूर्व अध्यक्ष श्याम सिटीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनीहरुले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, तालिम तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोडदिए । थारु जातिका मुद्दा, भाषा, संस्कृति र पहिचानलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म सशक्त रूपमा स्थापित गर्न कलम चलाउनुपर्ने समेत बताएका थिए ।
थारु पत्रकार संघ नेपाल कपिलवस्तुको पाँचौँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः सरिता थारु चयन भएकी छन् । बाणगंगा नगरपालिकास्थित गजेहडामा शनिबार भएको अधिवेशनले उनी चयन भएकी हुन् । यस्तै उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सिर्जना थारु, सह–सचिवमा नरेश थारु, कोषाध्यक्षमा दीपक चौधरी चयन भएको थापसा कपिलवस्तुले जनाएको छ । त्यसैगरी सदस्यहरूमा सुमन थारु, रञ्जिता थारु, अनिष चौधरी र हेमन्त चौधरी चयन भएका छन् ।