Butwal Today

मधेशमा प्रदर्शनमा बालबालिकाको सहभागिता बढ्दैँ

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनापछि मधेशका विभिन्न जिल्लामा जारी प्रदर्शनका क्रममा बालबालिकाको संलग्नता बढ्दै गएको भन्दै मधेश प्रदेश सरकार र प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार जारी गरेको अपिलमा सडक प्रदर्शन, जुलुस तथा भीडभाडमा बालबालिकालाई सहभागी नगराउन अभिभावकसँग आग्रह गरिएको छ। मन्त्रालयले साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधिका बीच बालबालिकाको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरेको छ। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अभिभावकलाई आफ्ना छोराछोरीलाई कुनै पनि उक्साहट, अफवाह वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बालबालिकालाई घरबाहिर नपठाउन र उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गर्नुभएको छ।

यस्तै, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले पनि सुनसरी घटनापछि प्रदेशका केही स्थानमा देखिएको तनावका क्रममा सडक प्रदर्शन र जुलुसमा बालबालिकाको सहभागिता बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकार र प्रहरीले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा भड्काउ सूचनाप्रति सचेत रहन तथा सामाजिक सद्भाव, शान्ति र कानुनी व्यवस्था कायम राख्न सबै पक्षलाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?