Butwal Today

सिद्धबाबा सुरुङमार्गमा असोजभित्र सवारी सञ्चालन

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित निर्माणाधीन राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारिएको छ ।

सुरुङभित्रको मुख्य सडक निर्माण सम्पन्न भइसकेपछि अहिले विद्युतीकरण, भेन्टिलेसन, सुरक्षा प्रणाली तथा पहुँच सडक निर्माणका काम एकसाथ अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

सिद्धबाबा क्षेत्र वर्षौंदेखि पहिरोको उच्च जोखिमयुक्त सडकका रूपमा परिचित छ । विशेषगरी वर्षायाममा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा मानवीय क्षति हुने घटनालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले निर्माण भइरहेको सुरुङमार्ग सञ्चालनमा आएपछि भैरहवा–बुटवल–पाल्पा हुँदै पोखरासम्मको यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।

सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार मुख्य सुरुङभित्रको करिब एक हजार १ सय २६ मिटर सडक निर्माण सम्पन्न भइसकेको छ । अब बाँकी रहेका विद्युतीय तथा सुरक्षा प्रणाली जडानका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

“मुख्य सुरुङको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले लाइटिङ, भेन्टिलेसन, पंखा, सुरक्षा उपकरण तथा सञ्चालन प्रणाली जडानको काम भइरहेको छ । हाम्रो लक्ष्य आगामी असोजभित्र सुरुङमार्गबाट सवारी सञ्चालन सुरु गर्ने हो,“ आयोजना प्रमुख बास्तोलाले बताए ।

सुरुङमार्गको चौडाइ करिब १० दशमलव ५ मिटर तथा उचाइ करिब ७ मिटर रहेको छ। सुरुङसँगै निर्माण भइरहेको पहुँच सडकमा ’रिजिड पेभमेन्ट’ प्रविधिबाट ढलान गर्ने स्वीकृतिअनुसार निर्माण कार्य अघि बढिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार गत असार मसान्तसम्म सुरुङमार्गको भौतिक प्रगति ६९ दशमलव २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको छ ।

सुरुङ सञ्चालनमा आएपछि अहिले प्रयोग भइरहेको पहिरो जोखिमयुक्त सडकखण्डमा रकसेड निर्माण, भिर संरक्षण तथा अन्य सुरक्षा संरचनाको काम गरिनेछ । पैदलयात्रीका लागि पनि रकसेडभित्र सुरक्षित हिँड्ने मार्ग निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।

उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टल निर्माण सम्पन्न भइसकेको छ । साथै सुरुङभित्रको सेकेन्डरी लाइनिङ र इन्भर्टको काम पनि सकिएको छ । अहिले विद्युतीय प्रणाली, सञ्चार, भेन्टिलेसन, पंखा, प्रकाश व्यवस्था तथा अन्य अत्याधुनिक उपकरण जडान भइरहेका छन् ।

आयोजना प्रमुख बास्तोलाका अनुसार सुरुङ सञ्चालनका लागि आवश्यक डिजाइन, सिभिल संरचना, विद्युतीय प्रणाली, सञ्चालन व्यवस्थापन तथा सुरक्षा मापदण्डअनुसार सबै काम समानान्तर रूपमा अघि बढाइएको छ ।

सिद्धबाबा सुरुङमार्ग ’इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा निर्माण भइरहेको हो । यस मोडलअन्तर्गत डिजाइनदेखि निर्माण सम्पन्न गरी सञ्चालनका लागि तयार पार्ने सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ ।

निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सुरुङमार्गको सञ्चालन, मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी निर्माण कम्पनीले नै वहन गर्नेछ । त्यसपछि थप पाँच वर्ष ’ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ अन्तर्गत संरचनामा देखिन सक्ने प्राविधिक कमजोरीको जिम्मेवारी पनि कम्पनीकै रहने व्यवस्था गरिएको आयोजना कार्यालयले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड रूपैयाँमा पाएको हो । सडक विभागले २०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि २०७८ फागुन २५ गते कम्पनीसँग निर्माण सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यद्यपि निर्माण कम्पनीले २०७९ सालको अन्त्यतिरबाट सुरुङ खन्ने मुख्य काम सुरु गरेको थियो । आयोजनाको सम्झौता अवधि २०८३ फागुन ९ गतेसम्म कायम रहेको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि कम्पनीले थप एक हजार ८२५ दिन (पाँच वर्ष) सञ्चालन तथा नियमित मर्मतसम्भारको जिम्मेवारीसमेत निर्वाह गर्नेछ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड नेपालकै अत्यधिक पहिरो प्रभावित सडकमध्ये एक मानिन्छ । हरेक वर्ष वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुने, यात्रु घण्टौँसम्म अलपत्र पर्ने तथा दुर्घटनाको जोखिम बढ्ने समस्या दोहोरिँदै आएको छ ।

यही समस्यालाई स्थायी रूपमा समाधान गर्ने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो । सुरुङ सञ्चालनमा आएपछि पहिरोको जोखिम उल्लेखनीय रूपमा घट्ने, यात्रा समय छोटिने तथा बुटवल–पाल्पा–स्याङ्जा–पोखरा र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशबीचको यातायात थप सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) ले २०७५ सालमा तयार गरेको थियो । त्यसपछि सडक विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत ठेक्का प्रक्रिया पूरा गरी सुरुङमार्ग निर्माण अघि बढाएको हो ।

आयोजना कार्यालयका अनुसार बाँकी रहेका विद्युतीय, सुरक्षा तथा पहुँच सडकका काम निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीले जनशक्ति र उपकरण परिचालन बढाएको छ । सबै काम योजनाअनुसार अघि बढेमा आगामी असोजभित्र पहिलोपटक सिद्धबाबा सुरुङमार्गबाट सवारीसाधन सञ्चालन हुने विश्वास आयोजनाले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?