© 2026
काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्तिबिनाको लोकतन्त्र कागजको खोस्टाजस्तै हुने भएकाले लोकतन्त्र मजबुत बनाउन शान्ति र स्थिरता अनिवार्य हुने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै उनले लोकतन्त्रबिना शान्ति सम्भव नभएको भन्दै लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन शान्ति अपरिहार्य रहेको स्पष्ट पारे ।
“मुलुकमा देखिएका समस्यालाई सामाजिक सद्भाव र एकताका माध्यमबाटै हल गर्नुपर्ने हुन्छ,” उनले भने, “शान्ति नभएका खण्डमा मान्छे तर्सेर बस्नुपर्ने हुन्छ । त्यो बेला लोकतन्त्र कहाँ रहन्छ ?”
सांसद सिटौलाले सबै धार्मिक सम्प्रदाय, जातीय समुदाय तथा सांस्कृतिक क्षेत्रमा रहेका तमाम व्यक्तित्वसँग सामाजिक सद्भाव कायम गर्न आह्वान गरे ।
सुनसरीको देवानगञ्ज र सिरहामा हिंसात्मक घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले घटनाका पीडितलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।