Butwal Today

गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

देउखुरी । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले विकास निर्माणका काममा गुणस्तर, पारदर्शिता र समयपालनलाई प्राथमिकता दिन मातहतका कार्यालय प्रमुख तथा प्राविधिक कर्मचारीलाई निर्देशन दिएका छन।

राप्ती उपत्यका, देउखुरीमा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२ /८३ को वार्षिक समीक्षा कार्यक्रममा मन्त्री खत्रीले योजना कार्यान्वयनका क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे। उनले स्वीकृत लागत अनुमान स्टिमेट र प्राविधिक मापदण्डको पूर्ण पालना गर्दै जनताको आवश्यकता र विकासको वास्तविक धरातललाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। “काम गर्दा स्टिमेटमैत्री बन्नुहोस्, जनताको वास्तविक धरातल सधैं स्मरण गर्नुहोस्,” भन्दै उनले योजना कार्यान्वयनको प्रारम्भिक चरणदेखि नै विशेष सतर्कता अपनाउन निर्देशन दिए । मन्त्री खत्रीले प्रदेश सरकार गठनपछि सडक, पुल तथा अन्य पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ती उपलब्धिहरू प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन मन्त्रालयअन्तर्गतका कार्यालयलाई नियमित प्रचारप्रसार गर्न पनि निर्देशन दिए।

कार्यक्रममा मन्त्रालयका सचिव राम पराजुलीले चालु आर्थिक वर्षमा बहुवर्षीय आयोजनाका लागि विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको जानकारी दिए। उनले आयोजना कार्यान्वयनमा गुणस्तरलाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै कन्टेन्जेन्सी, सडक तथा पुल मापदण्ड र सार्वजनिक खरिदसम्बन्धी आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। यातायात पूर्वाधार निर्देशनालयका निर्देशक अनिल मरासिनीले रणनीतिक तथा ठूला आयोजनाको नियमित अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजना कार्यान्वयनमा ल्याइएको बताए।

बैठकमा आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था तथा आगामी वर्षका प्राथमिकताबारे समीक्षा गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्याल, आर्थिक मामिला मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलालगायतको सहभागिता रहेको थियो। कार्यक्रमकै अवसरमा मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगावै सडक तथा पुल निर्माण सम्पन्न गर्ने विभिन्न जिल्लाका निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?