Butwal Today

कपिलवस्तुको मायादेवी रिसोर्टको खानापछि, दर्जनौं बिरामी

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुको मायादेवी रिसोर्टमा खाना खाएपछि दर्जनौं बिरामी परेका छन् । बाणगंगा नगरपालिका स्थित रिसोर्टमा आयोजित एक कार्यक्रममा खानाखाएपछि बिरामी परेका हुन् । रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको पद हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक, पत्रकारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिसहित करिब १ सय बढी सहभागी भएका थिए ।

गत मंगलबार खाना खाएपछि सहभागी मध्ये करिब ४० जना बिरामी भएको प्रहरीले जनाएको छ । बिरामीहरूको तौलिहवा, पिपरा तथा बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार झाडापखाला तथा फुड प्वाइजनको लक्षण देखिएपछि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरे समेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

बिरामी पर्नेमा प्रहरी उपरीक्षक मनोहर भट्ट, रोटरी क्लबका अध्यक्ष रोमाकान्त घिमिरे, पत्रकार महासंघ कपिलवस्तुका सहसचिव कृष्ण पौडेल, सरकारी कार्यालयका प्रतिनिधि तथा रोटरीका सदस्यहरू रहेका छन् । प्रशासनले खानाको नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ । घटना दबाउन खोजिएको आरोप लगाउँदै स्थानीय नारायण पौडेलले रिसोर्टविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

यता रिसोर्टका सञ्चालक बिरेन्द्र श्रेष्ठले पानी ल्याब टेस्ट भइसकेको बताउँदै त्यो पानी भुपु सैनिकको रहेको बताए । खानामा मिसावट नरहेको जनाउँदै दूषित पानीका केही मानिसहरु बिरामी भएको उनले स्विकार गरे । बाहिर १ सय जना सहभागी भएको कुरा आएपनि ८० जना मात्रै सहभागी रहेको सञ्चालक श्रेष्ठले दावी गरे ।

घटनापछि रिसोर्टको खानामा समस्या भएको आशंकामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले रिसोर्ट बन्द गर्न निर्देशन दिएको छ । सोही रिसोर्टमा गत जेठमा पौडी पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?