© 2026
दाङ । तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ । अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले आज संयुक्त रूपमा आज उद्घाटन गरे ।
कार्यक्रममा भारतीय राजदूतावासका काउन्सिलर ब्रैँडनले राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटनमा उपस्थित हुन पाउँदा आफू उत्साहित भएको धारणा राखे । यो उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल(भारत विकास सहयोगमार्फत भारत सरकारको अनुदानमा निर्माण गरिएको जनाउँदै यसको कार्यान्वयन तुलसीपुर उपमहानगरपालिकाले गरेको उनले बताए ।
काउन्सिलर ब्रैँडनले योसँगै भारत र नेपालबीच विकास साझेदारी थप मजबुत भएको बताए । उनले सन् २००३ मा सुरु भएको उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल(भारत विकास साझेदारी एक महत्वपूर्ण स्तम्भ रहेको बताउँदै उनले यी परियोजना स्थानीय निकायमार्फत तल्लो तहमा कार्यान्वयन गरिने धारणा राखे । यसमा नेपाल सरकारका स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, ढल निकास, तटबन्धन, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रणलगायत प्राथमिक क्षेत्र पर्ने उनले बताए ।
यो कार्यक्रम सुरु भएदेखि नेपालभर लगभग रु एक हजार ५ सय ८२ करोड लागतमा ६०० परियोजना कार्यान्वनमा आएका जानकारी दिँदै काउन्सिलर ब्रैँडनले भने, “यी परियोजना नेपालका ७४ जिल्लामा कार्यान्वयनमा आएका छन् । लुम्बिनी प्रदेशमा ६६ वटा सञ्चालनमा रहेकामा दाङ जिल्लामा मात्रै सात वटा परियोजना छन् । यी परियोजना सबै नेपाल सरकारले पहिचान गरी कार्यान्वयनमा आएका हुन् ।” साथै भारत सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको बताउँदै काउन्सिलर ब्रैंडनले हालसम्ममा एक हजार ४९ एम्बुलेन्स र ३८१ स्कुल बस उपहार स्वरुप प्रदान गरिएको जानकारी दिए । “तीमध्ये लुम्बिनी प्रदेशमा १६९ एम्बुलेन्स र ५९ स्कुल प्रदान गरिएकामा दाङमा १९ एम्बुलेन्स र आठ वटा स्कुल बस प्रदान गरिएको छ”, उनले भने ।
ती सवारीसाधनले स्वास्थ्य सेवा पूर्वाधारको प्राथमिक आवश्यकता पूरा गर्नुका साथै दुर्गम क्षेत्रमा शिक्षामा पहुँच सुनिचित गर्न महत्वपूर्ण भूमिका खेलेका काउन्सिलर ब्रैँडनले विश्वास व्यक्त गरे । आगामी दिनमा यस सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए । सो अवसरमा तुलसीपुर उपमहानगरप्रमुख खड्काले भारत सरकारको सहयोगमा सुविधा सम्पन्न अस्पतालको शल्यक्रिया भवन निर्माणले यस क्षेत्रका नागरिकले गुणस्तरीय सेवा पाउनेमा विश्वस्थ रहेको बताए । आफूहरूले भवन निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरेपछि सहयोग प्राप्त भएकामा उनले भारतीय दूतावासमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गरे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य शङ्कर गिरी, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दलगायत वक्ताहरू दुर्गम क्षेत्रका नागरिकलाई मध्यनजर गरी भारत सरकारले सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण गरिदिएकामा धन्यवाद दिए । भवन निर्माणसँगै अब आधुनिक शल्यक्रिया सेवा यहीँबाट प्रवाह हुने भएकाले स्थानीय नागरिक लाभान्वित हुने उनीहरूको भनाइ छ ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख शमशेर थापाले भवन निर्माण भएसँगै आँखा स्वास्थ्यको विकास, विस्तार र हालसम्म दिइएको सेवाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो ।