Butwal Today

सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्ने कि नबस्ने ? : एमाले

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा (एमाले) ले सुनसरीमा साउन १० गते भएको गोलीकाण्डको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने हो कि होइन भन्ने प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले काठमाडौंमा गोली चलेको घटनापछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा थुनामा बस्नुपर्ने आवाज उठेको स्मरण गराउँदै सुनसरी घटनामा पनि उही मापदण्ड लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन् ।

उनले सुनसरीको घटना राज्यको शान्ति–सुरक्षा व्यवस्थापनमा भएको असफलताको परिणाम भएको टिप्पणी गर्दै दङ्गा नियन्त्रण दमनबाट नभई संवाद र विश्वासबाट हुनुपर्ने बताइन् ।

“शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको छ। संवाद र विश्वासको सट्टा राज्य आफैंले त्रास सिर्जना गरेको छ,” उनले भनिन् । उनले आवेग र उत्तेजनाभन्दा संयम अपनाई शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न सबै पक्षलाई आग्रह गरिन् ।

अर्यालले भनिन्, “काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने भन्ने कुरा उठाइयो । अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि थुनामा बस्नुपर्छ कि पर्दैन ? यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैनरु यो हाम्रो प्रश्न हो ।”

उनले मुलुक सङ्कटमा पर्दा प्रधानमन्त्री र सरकार कहाँ छन् भन्ने प्रश्न गर्दै सङ्कटका बेला सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

साथै, शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न सरकारसँग सहकार्य र हातेमालो गर्न एमाले तयार रहेको बताउँदै उनले विगतमा टीकापुर, गौर र वीरगन्जलगायतका ठूला घटनाका बेला पनि सबै पक्षलाई एउटै सूत्रमा बाँध्ने प्रयास भएको स्मरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?