Butwal Today

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ ।

सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेलगत्तै क्याम्प–२ झरेर मे १८ मा ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोही सी जुन्जी र नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ को एउटै सिजनमा ‘नन–स्टप’ ९निरन्तर० दुई हिमालको सफल आरोहण गरेको भन्दै आज सम्मान गरेका हुन् ।

अधिकांश आरोही सगरमाथाको सफल आरोहणपछि क्याम्प–४ मा झरेर ल्होत्सेको आरोहण गर्ने गरेपनि सी जुन्जीको टोलीले भने क्याम्प–२ मा झरेर लोत्सेको आरोहण गरेको थियो ।

संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गरे । “सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ, सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको छ”, उनले भने ।

उनले हिमालसँगको आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । आफ्नो दिवङ्गत छोरा ९प्रकाश दाहाल० ले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्दै उनले हिमाललाई सम्मान गर्ने र सुरक्षित आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफ्नो गहिरो आदर रहेको बताए ।

उनले चीन र नेपालबीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली गाइडहरूको पूर्ण सहयोग रहेको बताए । उनले आगामी दिनमा पनि हिमालयन पर्वतारोहण र चीन–नेपालमैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू लाग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?