Butwal Today

रुश्दीमाथि आक्रमण गर्ने मतार आतङ्कवादसम्बन्धी अभियोगमा दोषी

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

न्युयोर्क । अमेरिकी सङ्घीय अदालतको जुरीले चर्चित लेखक सलमान रुश्दीमाथि सन् २०२२ मा भएको घातक छुरा आक्रमणका अभियुक्त हादी मतारलाई आतङ्कवादसँग सम्बन्धित अभियोगमा दोषी ठहर गरेको छ । जुरीले मतारले योजनाबद्ध रूपमा आतङ्कवादी विचारधाराबाट प्रेरित भई आक्रमण गरेको निष्कर्ष निकालेको हो ।

२८ वर्षीय लेबनानी–अमेरिकी नागरिक मतारले अगस्ट २०२२ मा न्युयोर्कस्थित चौटाउक्वा इन्स्टिच्युसनमा आयोजित एक साहित्यिक कार्यक्रममा मञ्चमै पुगेर रुश्दीमाथि पटक–पटक छुरा प्रहार गरेका थिए । उक्त आक्रमणमा रुश्दी गम्भीर घाइते भएका थिए र उनले एउटा आँखाको दृष्टि गुमाएका थिए ।

अमेरिकी सरकारी अधिवक्ता माइकल डिजियाकोमोले मतारले इरानी नेताहरूको अतिवादी विचारधारासँग आफूलाई जोडेर महिनौँसम्म आक्रमणको योजना बनाएको अदालतमा बताए । अनुसन्धानका क्रममा मतारको घरबाट इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बन्धित सामग्री भेटिएपछि उनलाई उक्त समूहलाई समर्थन गरेको अभियोगमा पनि दोषी ठहर गरिएको हो ।

अभियोजन पक्षका अनुसार मतारले सन् १९८९ मा तत्कालीन इरानी नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले रुश्दीको उपन्यास ‘द सटानिक भर्सेस’ लाई लिएर जारी गरेको फतवाबाट प्रेरणा लिएका थिए । अभियोजकहरूले सन् २०१७ मा इरानका सर्वोच्च नेता अली खामेनीले उक्त फतवालाई पुनः समर्थन गरेको तथा सन् २००६ मा हिजबुल्लाहका तत्कालीन नेता हसन नसरल्लाहले पनि त्यसको समर्थन गरेको दाबी गरेका छन् ।

डिजियाकोमोले अदालतमा रुश्दीमाथिको आक्रमणले इरानी आतङ्कवादको विश्वव्यापी प्रभावलाई पुनः उजागर गरेको बताए ।

गत साता सङ्घीय मुद्दाको सुनुवाइका क्रममा रुश्दी स्वयं अदालतमा उपस्थित भई करिब एक घण्टा गवाही दिएका थिए । मतार फतवा कार्यान्वयन गर्ने उद्देश्यले आक्रमणमा उत्रिएको भन्ने विश्वास छ कि भन्ने प्रश्नमा उनले आफूलाई त्यसबारे प्रत्यक्ष जानकारी नभए पनि त्यसप्रति शङ्का रहेको बताएका थिए ।

सन् २०२४ मा रुश्दीले आफ्नो आक्रमणको अनुभव समेटिएको ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरेका थिए । यसै वर्ष ‘नाइफः द एटेम्प्टेड मर्डर अफ सलमान रुश्दी’ शीर्षकको वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो ।

मतारले यसअघि न्युयोर्क राज्यको अदालतबाट हत्या प्रयासको अभियोगमा दोषी ठहर भई २५ वर्षको कैद सजाय पाइसकेका छन् । सङ्घीय अदालतबाट भएको पछिल्लो फैसलापछि उनले थप सजायको सामना गर्नुपर्नेछ । उनलाई नोभेम्बर ३ मा सजाय सुनाइने तय भएको छ । यद्यपि उनका कानुन व्यवसायीले उक्त फैसला पुनरावेदन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

आक्रमणअघि दिएको अन्तर्वार्तामा मतारले रुश्दीले ‘इस्लाममाथि आक्रमण’ गरेको विश्वासका आधारमा आफूले यस्तो कदम चालेको बताएका थिए । फतवा जारी भएपछि रुश्दी करिब एक दशक लन्डनमा कडा सुरक्षाबिच बसेका थिए । त्यसपछि करिब दुई दशक उनी न्युयोर्कमा अपेक्षाकृत सामान्य जीवन बिताइरहेका थिए ।

सन् २०२६ मा उनले हिंसाको माध्यमबाट संस्कृति र अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने प्रवृत्तिलाई अज्ञानता र कट्टरपन्थको परिणाम भन्दै अधिनायकवादी शासनका लागि संस्कृति सधैँ चुनौती हुने टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?