© 2026
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत सुनसरीको देवानगन्जमा उत्पन्न परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आह्वान गरेको सर्वदलीय बैठकमा उनले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्नुपर्ने बताए ।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ”, उनले भने । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संयोजक दाहालले विषम परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री दाहालले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै संयोजक दाहालले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता औँल्याए ।
उनले सुनसरी घटनाका सम्बन्धमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिएको बताए ।
संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताए ।