© 2026
चितवन । देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गरिने भएको छ ।
शवदाह गृह सञ्चालन खर्चिलो हुने भएकाले सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गर्ने तयारी गरिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाह गृह आज भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
महानगरपालिकाले सार्वजनिक–निजी साझेदारी मोडेलमा शवदाह गृह सञ्चालन गर्न आवश्यक कार्यविधिसमेत तयार गरिसकेको जनाएको छ । निर्माण सुरु भएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सम्पन्न भएको हो । शवदाह गृहमा दुई वटा शवदाह मेसिन जडान गरिएको छ ।
सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ लागतमा शवदाह गृह निर्माण गरेको हो । देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि शव ल्याइने गरिन्छ । दाउराको अभावका कारण शवदाह व्यवस्थापनमा चुनौती हुँदै आएको थियो ।
विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि बेवारिसे शवको अन्त्येष्टि व्यवस्थापनमा समेत सहजता हुने विश्वास गरिएको छ ।