© 2026
काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, आमसञ्चारसम्बन्धी कानुनी व्यवस्था तथा सुधारका पक्षमा गरिएका प्रयास र नेपालमा आयोजना हुन लागेको एआइबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको थियो ।
सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलन र विज्ञ तथा पदाधिकारी सम्मिलित उच्चस्तरीय भेटघाटबाट सञ्चार क्षेत्रको विकासमा सहयोग पुगी आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले नेपालमा आयोजना हुने एआइबिडीको सम्मेलनमा सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरका बारेमा बहस हुने र नेपाल सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियामा आवश्यक पृष्ट पोषणसहित यसले सहयोग पुर्याउने धारणा व्यक्त गरे ।
“एक दशकअघिको तुलनामा अहिले सञ्चार क्षेत्रमा निकै परिवर्तन आइसकेको छ, आगामी दिनमा अझ नयाँ आयाम थपिँदै जानेछन् । त्यसैले सरकारले सञ्चार क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने काम अघि बढाइरहेको सन्दर्भमा नेपालमा हुने सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणमा उपयोगी हुने विश्वास लिएका छौँ”, मन्त्री तिमिल्सिनाले भने ।
उनले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चारमाध्यमले लोकतन्त्र प्रवर्द्धन, नागरिक सहभागिता वृद्धि तथा उत्तरदायी शासन प्रणाली निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएको उनको भनाइ थियो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार क्षेत्रले अहिले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण, खस्कँदो विश्वसनीयतालगायतका चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती चुनौती समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
भेटका अवसरमा नागरिक पत्रकारिता ९सिटिजन जर्नालिज्म०को विस्तार र डिजिटल माध्यमको तीव्र विकाससँगै मुख्य धारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनबारे थप गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको पनि बताए । नेपालमा आयोजना हुने एआइबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकार आयोजक संस्थासँग आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले स्पष्ट गरे ।
यसै गरी, एआइबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चारमाध्यमका रूपमा रहेको बताइन । विशेष गरी नेपालको सामुदायिक रेडियो अभियानले गाउँ तहसम्मका ठुलो जनसमुदायसम्म सूचना पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
उनले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता ९एआई०, डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानवअधिकार तथा समसामयिक सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइरहेको बताइन । विपद्को समयमा पूर्व सूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विद्युतीय सञ्चारमाध्यमको भूमिका अझै पनि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन ।
अन्तर सरकारी संस्थाका रूपमा सदस्य राष्ट्र बिच प्रसारण क्षेत्रको अनुभव, नीति तथा प्रविधि आदानप्रदानमा एआइबिडी क्रियाशील रहेको जानकारी दिँदै उनले नेपालमा हुने सम्मेलनले विद्युतीय सञ्चारमाध्यमको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबिच ज्ञान आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन ।
भेटका क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीलगायतका पदाधिकारीले नेपालमा सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने तथा स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
उनीहरूले डिजिटल तथा नयाँ सञ्चारमाध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सामुदायिक रेडियोले कानुनी, नीतिगत तथा प्रशासनिक जटिलता भोगिरहेको उल्लेख गर्दै तीनै तहका सरकारसँग काम गर्नुपर्ने वर्तमान संरचनामा आवश्यक कानुनी सहजीकरण गर्न सञ्चारमन्त्रीसँग आग्रह गरे । विशेष गरी विपद्को समयमा सामुदायिक रेडियोलाई राज्यबाट संरक्षण र सहजीकरणको व्यवस्था गर्नुपर्ने अकोरावको भनाइ थियो ।
अकोराबका पदाधिकारीहरूले दक्षिण एसियामा सामुदायिक रेडियो अभियानको नेतृत्वदायी भूमिका नेपालले निर्वाह गर्दै आएको उल्लेख गर्दै सन् २०१२ मा पनि नेपालमा एआइबिडीको यस्तै प्रकृतिको कार्यक्रम सफलतापूर्वक आयोजना भएको स्मरण गराएका थिए ।
आगामी आगामी अगस्ट २३ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने एआइबिडीको २४औँ सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजक संस्था अकोरावले जनाएको छ ।