© 2026
लुङ्ग्री (रोल्पा) । रोल्पाको लुङ्ग्री गाउँपालिका–१ र ५ जोड्ने लालुबाङ बौज्याङखोलामा निर्माण गरिएको बेलिव्रिज सञ्चालनमा आएपछि वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीले ठुलो राहत महसुस गरेका छन् ।
सोमबार गाउँपालिकाले विशेष समारोहबीच बेलिव्रिजको औपचारिक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले यसलाई अस्थायी समाधानका रूपमा लिँदै स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढिसकेको जनाएको छ ।
लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले बेलिव्रिजको उद्घाटन गर्दै पुल अभावका कारण दशकौँदेखि दुःख भोग्दै आएका स्थानीयको समस्या समाधानतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
उनका अनुसार सङ्घ र प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि विभिन्न प्रशासनिक र प्राविधिक कारणले योजना अघि बढ्न नसकेपछि गाउँपालिकाले आफ्नै स्रोत परिचालन गरेर बेलिव्रिज निर्माणको निर्णय गरेको हो ।
“सीमित स्रोतसाधन भए पनि स्थानीय सरकारको दृढ इच्छाशक्ति, जनप्रतिनिधिको प्रतिबद्धता र नागरिकको सहयोगका कारण यो योजना सफल भएको हो,“ अध्यक्ष थापाले भने ।
बौज्याङखोलामा पुल नहुँदा विशेष गरी वर्षा याममा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो । बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय पुग्न र किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन स्थानीयले वर्षौँदेखि कठिनाइ भोग्दै आएका थिए । कतिपय अवस्थामा ज्यानकै जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो भने हिउँदमा पनि सवारी साधन खोलाबाटै वारपार गराउँदा दुर्घटनाको जोखिम रहँदै आएको थियो ।
स्थानीयका अनुसार बेलिव्रिज सञ्चालनसँगै अब बाह्रै महिना सवारी साधन सञ्चालन हुने वातावरण बनेको छ । यसले शिक्षा, स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । किसानहरूले कृषि उपज सहज रूपमा बजारसम्म पु¥याउन सक्ने, विद्यार्थीको पठनपाठन नियमित हुने तथा आकस्मिक बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन सहज हुने विश्वास स्थानीयको छ ।
बेलिव्रिज निर्माणको जिम्मेवारी त्रिपुरेश्वरी निर्माण सेवा, सुनिलस्मृति गाउँपालिका–२, रोल्पाले पाएको थियो । प्रारम्भिक रूपमा दुई करोड रूपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक करोड ३६ लाख रूपैयाँमा सम्पन्न भएको हो ।
निर्माण कार्य २०८३ असार २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक कारणले एक महिनाको म्याद थपिएको थियो । तर निर्माण कम्पनीले थपिएको समयभन्दा अगावै काम सम्पन्न गरी साउन ११ गते गाउँपालिकालाई पुल हस्तान्तरण गरेको थियो। समयमै गुणस्तरीय काम सम्पन्न गरेको भन्दै गाउँपालिकाले उद्घाटन समारोहमै निर्माण कम्पनीलाई सम्मानपत्र प्रदान गरेको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अनिल रिजाल, वडा नं. १ का अध्यक्ष गणेश पुन, वडा नं. ५ का अध्यक्ष रिखमान रोका, निर्माण कम्पनीका प्रतिनिधि सत्यमान गुरुङ, नेपाली कांग्रेसका स्थानीय नेता मोती पुन (मदन) तथा नेकपाका प्रतिनिधि खिमबहादुर केसीलगायतले बेलिव्रिजले स्थानीय जनजीवनमा ल्याउने सकारात्मक परिवर्तनबारे धारणा राखेका थिए ।
लुङ्ग्री गाउँपालिका–१ पूर्वाधार विकासका दृष्टिले गाउँपालिकाकै सबैभन्दा दुर्गम वडामध्ये एक हो । यहाँ एक हजार १०८ घरधुरीमा पाँच हजार ४५१ जनसंख्या बसोबास गर्छ । विकट भूगोलका कारण सडक, स्वास्थ्य, शिक्षा र यातायात सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको स्थानीय तहले जनाएको छ ।
विशेष गरी वर्षा याममा सडक अवरुद्ध हुँदा गर्भवती महिला, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीलाई डोको वा स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहँदै आएको थियो । किसानले उत्पादन गरेका अन्नबाली, तरकारी तथा अन्य कृषि उपज बजारसम्म पु¥याउन नसक्दा आर्थिक नोक्सानीसमेत व्यहोर्नुपरेको स्थानीयको गुनासो छ ।
गाउँपालिकाका अनुसार हाल सञ्चालनमा आएको बेलिव्रिज तत्कालका लागि प्रभावकारी समाधान भए पनि दीर्घकालीन रूपमा स्थायी पक्की पुल निर्माण अपरिहार्य छ । त्यसका लागि आर्थिक वर्ष २०८२/८३ मै पक्की पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढिसकेको छ । स्थायी पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात सेवा थप सुरक्षित, व्यवस्थित र दिगो हुने अपेक्षा गरिएको छ ।
यद्यपि पुल सञ्चालनमा आए पनि वडा नं. १ जोड्ने अधिकांश सडक अझै कच्ची र जीर्ण अवस्थामा छन् । वर्षा याममा हिलो, पहिरो र सडक अवरोधका समस्या कायमै रहेकाले स्थानीयले अब सडक स्तरोन्नति, पक्की पुल निर्माण तथा अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
स्थानीयका अनुसार बेलिव्रिजले तत्कालका लागि वर्षौँदेखिको आवतजावतको सास्ती अन्त्य गरेको छ । अब स्थायी पुल र स्तरीय सडक निर्माणले मात्रै लुङ्ग्रीका दुर्गम बस्तीको समग्र विकासले गति लिने अपेक्षा गरिएको छ ।