© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र सामाजिक सद्भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दल जिम्मेवार भएर उभिनुपर्ने बताएका छन् ।
आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने तथा एक समुदायलाई अर्को समुदायप्रति घृणा र द्वेष फैलाउने गतिविधि हुन नदिन सबै राजनीतिक दलबीच साझा समझदारी बनेको जानकारी दिए ।
बैठकको मुख्य निष्कर्षबारे जानकारी दिँदै उनले भने, “कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा समुदायलाई अर्को समुदायप्रति घृणा, द्वेष र आक्रमणतर्फ उक्साउने अवस्था सिर्जना गर्छ, त्यसले कसैलाई पनि फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।”
एक युवकको मृत्यु भएको घटनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा लामिछानेले उक्त घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै सुरक्षा निकाय जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने, “घटनाको वास्तविकता बाहिर आउन केही समय लाग्छ । अहिले नै अफवाह र षड्यन्त्रका पछि लाग्नुभन्दा जिम्मेवार निकायले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा रहनुपर्छ ।”
लामिछानेले घटनामा संलग्न जोसुकै दोषी भए पनि कानुनी कठघरामा ल्याइनुपर्ने र सरकारले त्यसमा कुनै ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।