© 2026
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झन्डै एक महिना बित्न लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।
नेपाल आयल निगमले गत असार १७ गते मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले हालसम्म भाडा समायोजन गरेको छैन । अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र सञ्चालन हुने सवारीसाधन र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा भने यथावत् रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला ९सरोज० ले सङ्घीय सरकारले अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि प्रदेश सरकारले आफ्नै क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन नगरेको गुनासो गरे ।
“हामीले पटक–पटक प्रदेश सरकारलाई वैज्ञानिक ढङ्गले भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका छौँ,” उनले भने, “बागमती प्रदेशसहित अन्य प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत भाडा समायोजनमा चासो देखाएका छैनन् । एकातर्फ सर्वसाधारण महँगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सङ्घीय सरकारले जस्तै प्रदेश सरकारले पनि तत्काल भाडा समायोजन गर्न आवश्यक छ ।”
अध्यक्ष सिटौलाले कोसी प्रदेशबाहेक अन्य प्रदेश सरकारले प्रदेशस्तरीय भाडा समायोजनमा खासै चासो नदिएको दाबी गरे । बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर हुँदा प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गर्न केही समय लागेको बताए ।
“सङ्घीय सरकारले अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गर्छ । तर प्रदेशस्तरको भाडा समायोजन प्रक्रिया केही लामो भएकाले समय लागेको हो,” उनले भने, “अब केही दिनभित्रै भाडा समायोजन गर्ने गरी काम गरिरहेका छौँ । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा छिट्टै टुङ्गोमा पुग्नेछ ।”
यातायात व्यवस्था विभागले भने गत असार १८ गते अन्तरप्रदेशीय सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको थियो । विभागका अनुसार अघिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर रु २३५.८३ रहेको थियो । गत असार १७ गतेदेखि प्रतिलिटर रु १९३।८३ कायम भएपछि स्वचालित प्रणालीअनुसार नयाँ भाडादर समायोजन गरिएको हो ।