Butwal Today

निहत्या नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक हो : नेकपा

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कप्तानगन्ज घटनामा गम्भीर मानवअधिकार उल्लंघन भएको आरोप लगाउँदै घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा कप्तानगन्जमा गोली चलाउनुपर्ने अवस्था नै नरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै थिएन । अझ घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक हो ।’

नेकपाले सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील घडीमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । तर, कप्तानगन्ज घटनामा सरकारको सुरक्षा संयन्त्रबाट ज्यादती भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा सरकारी निकायकै गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यान गएको दाबी गर्दै घटनाको भर्त्सना गरिएको छ । ‘सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यानसमेत गएको छ । यो घटना गम्भीर मानवअधिकार उल्लंघन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण पनि हो,’ विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्दै निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । साथै, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

यस्तै, वर्तमान परिस्थितिमा सबै पक्षलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न नेकपाले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?