Butwal Today

सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्ने निर्णय

११ श्रावण २०८३, सोमबार
अ+
अ-

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षले प्रभावकारी पहल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए ।

घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटाहा र हरिनगरा बजार क्षेत्रमा आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको छ । उनले हाल उक्त क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको पनि बताए ।

कप्तानगञ्जमा गए राति दुई समूहबिच विवाद भएपछि भएको झडपमा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो ।

बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?