Butwal Today

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति: इरान

१० श्रावण २०८३, आइतबार
अ+
अ-

तेहरान । इरानले रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ को व्यवस्थापन तथा जलमार्गबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ ।

तेल तथा ग्यासको अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जल क्षेत्रसँग जोडिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबीच वार्ताका विभिन्न चरण सम्पन्न भएको बताएका छन् ।

उनका अनुसार दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ होर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा वार्ता केन्द्रित थियो ।

बाकायीले वार्ता उपयोगी र सकारात्मक रहेको बताउँदै दुवै पक्षबिच प्राविधिक तथा राजनीतिक तहमा परामर्श जारी रहेको जानकारी दिएका छन् ।

गत जुन महिनामा इरान र ओमानले ‘स्ट्रेट अफ होर्मुज’ हुँदै आवतजावत गर्ने पानीजहाजबाट सेवा शुल्क उठाउने विषयमा छलफल गर्ने बताएका थिए । अमेरिकाले भने उक्त प्रस्तावको विरोध गरेको थियो ।

ओमानले आफ्नो जलक्षेत्र हुँदै पानीजहाजलाई ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न सकिने बताएपछि इरान असन्तुष्ट बनेको थियो । त्यसपछि तेहरानले जलमार्गमा तनाव बढाउने कदम चालेको थियो ।

इरानले शनिबार करिब दुई सातासम्म चलेको अमेरिकी आक्रमणपछि पछिल्लो समय कुनै नयाँ अमेरिकी आक्रमण नभएको जनाएको छ ।

समाचार वेबसाइट ‘एक्सियोस’ का अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष लगातार १४औँ रात इरानमाथि आक्रमण गर्ने योजना प्रस्तुत गरेको थियो । तर, ट्रम्पले पुनः वार्तालाई प्राथमिकता दिँदै उक्त योजना स्वीकृत गर्न अस्वीकार गरेका थिए ।

प्रतिवेदनअनुसार ‘स्ट्रेट अफ होर्मुज’ पुनः सञ्चालनका लागि नयाँ व्यवस्थाबारे वार्ता गर्न ओमानी प्रतिनिधिमण्डल तेहरान पुगेपछि ट्रम्पले आक्रमण रोक्ने निर्णय गरेका थिए ।

यसैबिच, ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवतजावतको अवस्थाबारे सोधिएको प्रश्नमा बाकायीले हालसम्म कुनै परिवर्तन नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?