© 2026
बेइजिङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा प्रवेश गरेपछि ग्वाङडोङ प्रान्तको जनजीवन प्रभावित भएको छ । तीव्र हावाहुरी र अविरल वर्षाका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएका छन् ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३ः५० बजे ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन यही हो ।
हङकङ मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो । ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै जाँदा टाइफुन क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा जारी रहेको छ ।
सरकारी स्वामित्वको चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । चाइना न्युज सर्भिसका अनुसार आँधीका कारण आइतबारका लागि प्रान्तका केही रेल सेवा रद्द गरिएका छन् ।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको छ । सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रुख ढलेका छन् ।
हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएका छन् । हङकङका अधिकारीहरूले आँधीका कारण सहरभरि कम्तीमा नौ जना घाइते भएको बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार ‘नाउल’ हङकङनजिक पुग्दै गर्दा शनिबार दिउँसो एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो । प्रारम्भिक विवरणअनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन ।
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’ का कारण ताइवानको दक्षिणी र पूर्वी क्षेत्रमा वर्षा भएको थियो । आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढेको जनाएको छ ।
यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ले पूर्वी चीनमा तीव्र हावाहुरी र भारी वर्षा गराउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भाभी’ जुलाई ११ मा चीनको भूभागमा ठोक्किएको थियो । त्यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ पनि दक्षिणी चीनमा ठोक्किएको थियो । रासस