Butwal Today

चीनको दबाबपछि काठमाडौँमा हुने तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने

१० श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । चीनको कूटनीतिक चासो र नेपाल सरकारमाथिको दबाबपछि काठमाडौँमा आयोजना हुन लागेको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामाको निर्वासित सरकार (केन्द्रीय तिब्बती प्रशासन–सीटीए) ले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको छ।

भारतको धर्मशालास्थित सीटीएले भदौ ७ देखि १३ गते अगस्ट २३–२९ सम्म नेपालमा हुने इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज आईएटीएसको १७औँ सम्मेलनमा संस्थागत रूपमा सहभागी नहुने निर्णय गरेको सुरक्षा स्रोतले जनाएको छ।यसअघि सीटीएले आफ्नो थिङ्क ट्याङ्क तिब्बत नीति संस्थान टीपीआईका निर्देशक दावा छिरिङको नेतृत्वमा पाँच सदस्यीय टोली सम्मेलनमा पठाउने तयारी गरेको थियो। टोलीमा डा छेवाङ दोर्जी, डा छिरिङ डोल्मा, डा। कर्मा तेन्जिङ दलिया र डा रिगमोन छिरिङ सामदुक सहभागी हुने योजना थियो।

तर सम्मेलनअघि काठमाडौँस्थित चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गर्दै सम्मेलनमा निर्वासित तिब्बती प्रतिनिधिहरूबाट चीनविरोधी अभिव्यक्ति आउन सक्ने चिन्ता व्यक्त गरेका थिए। त्यसपछि नेपाल सरकारलाई कूटनीतिक असहजता नहोस् भन्ने उद्देश्यले सीटीएले औपचारिक सहभागिता फिर्ता लिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

सुरक्षा स्रोतका अनुसार चीनले सम्मेलन रोक्न प्रत्यक्ष आग्रह नगरे पनि यसलाई नजिकबाट नियालिरहेको संकेत दिएको थियो। त्यसपछि धर्मशालामा बसेको सीटीएको बैठकले नेपाल सरकारको विदेश नीतिप्रति सम्मान जनाउँदै संस्थागत रूपमा प्रतिनिधि नपठाउने निर्णय गरेको हो। यद्यपि, यसअघि व्यक्तिगत रूपमा नाम दर्ता गरिसकेका तिब्बती अनुसन्धानकर्ता तथा विज्ञहरूले व्यक्तिगत हैसियतमा सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ।

नेपालमा पहिलो पटक हुन लागेको आईएटीएस सम्मेलनमा ३९ देशका ७ सयभन्दा बढी अनुसन्धानकर्ता, प्राध्यापक, इतिहासकार, भाषाविद्, धर्मविद् र सामाजिक वैज्ञानिक सहभागी हुनेछन्। आयोजकका अनुसार सबैभन्दा धेरै करिब १५० प्रतिनिधि अमेरिकाबाट र करिब १०० प्रतिनिधि चीनबाट सहभागी हुनेछन्। सम्मेलनमा चीनका ल्हासा, सिचुवान, छिङ्ह्वा र पेकिङ विश्वविद्यालयका अनुसन्धानकर्तासँगै हार्वर्ड, कोलम्बिया, अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका विद्वानहरूको पनि सहभागिता रहनेछ। साथै, चाइना टिबेटोलोजी रिसर्च सेन्टर, भारत, ताइवान र जापानका बौद्ध संस्थाका प्रतिनिधिहरू पनि काठमाडौँ आउनेछन्।

सम्मेलनको उद्घाटन भदौ ७ गते काठमाडौँ विश्वविद्यालयको धुलिखेल परिसरमा हुनेछ भने विभिन्न विषयमा करिब ७० वटा शैक्षिक सत्र सोल्टी होटलमा सञ्चालन गरिनेछ।स्थानीय आयोजक काठमाडौँ विश्वविद्यालयअन्तर्गतको हिमालयन सेन्टर फर एसियन स्टडिज ९हि–कास का निर्देशक डा सागर शर्माले सम्मेलन पूर्ण रूपमा सरकार तथा सुरक्षा निकायसँगको समन्वयमा भइरहेको बताए। उनका अनुसार यो पूर्ण रूपमा प्राज्ञिक प्रकृतिको अन्तर्राष्ट्रिय सम्मेलन भएकाले कुनै राजनीतिक विवाद उत्पन्न नहुने विश्वास गरिएको छ।

आईएटीएस तिब्बतसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने विश्वव्यापी विद्वानहरूको प्रमुख अन्तर्राष्ट्रिय संस्था हो। यसको उद्देश्य तिब्बतको इतिहास, भाषा, संस्कृति, धर्म र समाजसम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। यद्यपि चीनले निर्वासित तिब्बती प्रशासन वा दलाई लामासँग जोडिएका गतिविधिलाई आफ्नो सार्वभौमिकतासँग सम्बन्धित संवेदनशील विषयका रूपमा हेर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?