© 2026
वासिङ्टन ।
संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्च स्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युरोपेली कूटनीतिज्ञ र यस विषयमा परिचित स्रोतहरूलाई उद्धृत गर्दै, एक्सियोसले बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथ लगायत पश्चिमी र मध्य पूर्वी राष्ट्रका रक्षा मन्त्रीहरू र सैन्य नेताहरू बैठकमा सहभागी हुन सक्ने जनाएको छ । यात्रा कार्यक्रम र मिति अझै छलफल भइरहेकोले अन्तिम रूप दिने प्रयास भई रहेको उनले बताएका छन् ।
ह्वाइट हाउसका एक अधिकारीले संयुक्त पहलको पुष्टि गरेको तथा वासिङ्टनमा रहेको ब्रिटिस दूतावासले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको एक्सियोसले जनाएको छ ।
स्रोतहरूलाई उद्धृत गर्दै, एक्सियोसले अमेरिकाले बेलायत र फ्रान्सले हालैका महिनाहरूमा स्टेट अफ होर्मुजको लागि सम्भावित अन्तर्राष्ट्रिय गठबन्धनको बारेमा धेरै देशहरूसँग गरेको छलफल गरी गठबन्धन गठन निर्माण गर्ने लक्ष्य राखेको रिपोर्ट गरिएको छ ।
एक युरोपेली कूटनीतिज्ञलाई उदृत गर्दै एक्सियोसले यो प्रयास इरानसँगको द्वन्द्वबाट अमेरिकी निकास रणनीतिसँग जोडिएको जनाएको छ ।
तेहरान विरुद्ध सैन्य कारबाही बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो धम्की पछि होर्मुजको जलमार्गमा यात्रा गर्ने व्यापारिक जहाजहरूमा निर्देशित प्रत्येक आक्रमणका लागि वासिङ्टनले एउटा इरानी पुल वा पावर प्लान्टलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
वासिङ्टनको अपरेसन समाप्त गर्ने तत्काल कुनै चाहाना नभएको सङ्केत गर्दै उनले युद्धको उदेश्य पुरा नभएको बताएका छन् ।
व्यापारिक जहाजहरूलाई लक्षित गरी नयाँ समुद्री नाकाबंदी गरे पछि सुरु भएको होर्मुजको रणनीतिक स्ट्रेट वरपर चलिरहेको झडपको वृद्धि भएको छ, जसले विश्वव्यापी तेल पारवहनमा बाधा पुर्याएको जनाएको छ । समुद्री तनावले कच्चा तेलको मूल्यलाई तीव्र रूपमा बढाउदा घरेलु इन्धनको बढ्दो लागतको बीचमा ह्वाइट हाउस लगायत समग्र विश्वमा आर्थिक दबाब बढेको जनाइएको छ ।
यसैबिच, युद्धविरम प्रयासका लागि वार्ता जारी छ भने होर्मुजको जलमार्ग पुनः खोल्न छलफल गर्न ओमानको प्रतिनिधिमण्डल शुक्रबार तेहरान पुगेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र इरानले आक्रमणहरू जारी राख्दै गर्दा ओमानको प्रतिनिधिमण्डल पनि होर्मुजको जलमार्गमा ढुवानी यातायात व्यवस्थापन गर्ने विकल्पहरू बारे छलफल गर्न इरान आइपुगेको उल्लेख गरिएको छ ।
इरानको सरकारी समाचार एजेन्सी इरनाले प्रतिनिधिमण्डलको भ्रमण इरान र ओमान बीच जारी परामर्शको निरन्तरता भएको बताएको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीले आफ्ना ओमानी समकक्षी बद्र अलबुसाइदीसँग फोन–वार्ता गरिसकेको बताएका छन् ।
दुई नेताबिचको छलफल हालैको क्षेत्रीय घटनाक्रम, समुद्री आवागमनको सुरक्षा र स्ट्रेट अफ होर्मुज र पर्सियन खाडीमा व्यापारिक ढुवानी पारवहनमा केन्द्रित रहेको इरनाले जनाएको छ ।