Butwal Today

राहदानी प्रणालीका प्राविधिक समस्या क्रमशः समाधान हुँदै छन्: परराष्ट्र मन्त्रालय

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ  । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत् सहज हुने जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले राहदानी प्रणाली परिवर्तनपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत प्रत्यक्ष ९लाइभ० राहदानी आवेदन लिने तथा राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिए ।

उनका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० वटा राहदानी छापिइसकेका छन् । हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालन भइरहेको छ । साथै आठ वटा नेपाली नियोगमा जुनसुकै समय अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रवक्ता क्षेत्रीले प्रणाली स्थिरीकरणको चरणमा केही प्राविधिक समस्या देखिनु स्वाभाविक रहेको उल्लेख गर्दै सम्बन्धित प्राविधिक टोलीले ती समस्याको समाधान गरिरहेको बताए ।

मन्त्रालयका अनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा छिटो पुर्‍याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता भइसकेको छ । साथै नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?