© 2026
काठमाडौँ । सरकारले सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यासअनुसार सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुरोधका आधारमा सभापति रवि लामिछानेको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै उनले कूटनीतिक आधारमा सबै भ्रमण सम्पन्न हुने बताए ।
उनले भने, “राजनीतिक दलहरूबिच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ ।”
एक प्रश्नको जवाफमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार वेनको भारत भ्रमणबारे मन्त्रालय अनभिज्ञ रहेको बताए ।
उनले सांस्कृतिक कूटनीति हरेक देशको कूटनीतिक अभ्यासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी र सुदृढ बनाउने नीति सरकारले लिएको जानकारी दिए ।