Butwal Today

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

६ श्रावण २०८३, बुधबार
अ+
अ-

भियना । नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ ।

लामो विवाद र कानुनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ । साथै, यसले वर्षौंदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने रु’ भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवन करिब दुई करोड युरोको लागतमा पुनः निर्माण गरिएको हो ।

निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ । जर्मन सीमानजिक रहेको यही घरमा एडोल्फ हिटलरको सन् १८८९ अप्रिल २० मा जन्म भएको थियो ।

पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रंग्याइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ । भवनबाहिर रहेको स्मारक शिलालेखमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश यथावत् राखिएको छ ।

सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो । यद्यपि, होलोकास्टप्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय–समयमा आलोचित हुँदै आएको छ ।

यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो । सन् १९७२ देखि भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो । अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको पुनःउपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएकी थिइन् ।

अस्ट्रियाली संसद्ले सन् २०१६ मा विशेष कानुनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो ।

भवन भत्काउने, सङ्ग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए । अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो ।

सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ ।

तर यातना शिविरबाट बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रिया का प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताएका छन् । उनका अनुसार इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान पूर्ण रूपमा मेटाउन सम्भव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?