© 2026
नयाँदिल्ली । भारतले पहिलोपटक डेङ्गु नियन्त्रणका लागि खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ ।
जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेङ्गुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कनपछि स्वीकृति प्रदान गरेको हो । मन्त्रालयका अनुसार उक्त खोप चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोगको रोकथामका लागि प्रयोग गरिनेछ ।
‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ । दोस्रो मात्रा पहिलो डोज लगाएको तीन महिनापछि दिइने व्यवस्था गरिएको छ ।
टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ई सँग सहकार्य गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त खोपले डेङ्गु भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली सङ्घ (ईयू), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ । साथै, यसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पूर्वयोग्यता ९प्रि–क्वालिफिकेसन० पनि प्राप्त गरेको छ ।
हालसम्म विश्वभर यो खोपका दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेका छन् । प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डब्लुएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेङ्गुको जोखिममा छ । प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेङ्गुबाट संक्रमित हुने गरेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेङ्गुको संक्रमण उल्लेखनीय रूपमा बढेको छ ।
भारतको पछिल्लो आधिकारिक तथ्यांकअनुसार सन् २०२१ यता देशमा १० लाखभन्दा बढी डेङ्गु संक्रमण पुष्टि भएका छन् भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ ।
यसैबीच, भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेङ्गु खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ । स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिङ्गल डोज) डेङ्गु खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ । रासस