Butwal Today

वन्यजन्तुको त्रासले वैकल्पिक खेती

३ श्रावण २०८३, आइतबार
अ+
अ-

पाल्पा । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका निवासी खेमराज घिमिरे केही दिनअघि पाल्पाको तानसेनस्थित सुन्तला जात फलफूल विकास केन्द्र पुगे । उनको उद्देश्य थियो– वन्यजन्तुको बढ्दो हैरानीका कारण परम्परागत खेतीको विकल्प खोज्दै सुन्तला खेती सुरु गर्ने ।

केन्द्रबाट बिरुवा खरिद गर्न पुगेका उनले अब परम्परागत खेतीभन्दा नगदे बालीका रूपमा स्थापित सुन्तला खेतीतर्फ लाग्ने योजना सुनाए ।
उता, रोल्पाको सुनछहरी गाउँपालिका–५ का ५७ वर्षीय सन्दीप पुन पनि सोही उद्देश्यका साथ केन्द्र पुगेका थिए ।

उनी यस वर्ष आफ्नो १० रोपनी जग्गामध्ये चार रोपनीमा सुन्तला र कागती खेती विस्तार गर्ने तयारीमा छन् । “वन्यजन्तुले परम्परागत खेती जोगाउनै गाह्रो बनायो,” उनले भने, “बाली जोगाउन दिनरात खेतमा बस्नुपर्ने अवस्था भएपछि अब सुन्तला र कागतीजस्ता नगदे बालीतर्फ लागेको हुँ ।”

यस्ता किसानको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको सुन्तला जात फलफूल विकास केन्द्रले जनाएको छ । कृषि मजदुरको अभाव, वन्यजन्तुको बढ्दो बिगबिगी र नगदेबालीबाट राम्रो आम्दानी हुने सम्भावनाका कारण मध्य पहाडी क्षेत्रका किसानहरू सुन्तला, कागती र जुनार खेतीतर्फ आकर्षित भइरहेका छन् । केन्द्रका अनुसार हरेक वर्ष बिरुवाको माग बढ्दो क्रममा रहे पनि उत्पादनले माग धान्न सकेको छैन ।

गुल्मीको धुर्कोट गाउँपालिकाका पुराना किसान रामबहादुर केसीका अनुसार वन्यजन्तुको आतङ्कले धेरै किसान खेतीयोग्य जमिन बाँझै छाड्न वा बसाइसराइ गर्न बाध्य भएका छन् । यस्ता समस्या न्यूनीकरण गर्न स्थानीयदेखि सङ्घीय सरकारसम्मले वन्यजन्तुले कम क्षति पु¥याउने नगदेबाली प्रवर्द्धन गर्ने नीति लिएका कारण सुन्तला खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ ।

केसीले यस वर्ष पाल्पाको केन्द्रबाट एक सय बिरुवा खरिद गरी आफ्नो जग्गा सुन्तलाले भरिएको बताए । “जमिन खाली राख्नुभन्दा नगदेबाली लगाउनु नै राम्रो लाग्यो,” उनले भने, “वन्यजन्तुले कम क्षति गर्ने भएकाले सुन्तलाले राम्रो विकल्प दिएको छ ।”

एक समय पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा घरायसी प्रयोजनका लागि मात्र सुन्तला र कागती लगाउने चलन थियो । तर तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगपछि बगनासकाली, पूर्वखोला गाउँपालिका तथा तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक सुन्तला खेती विस्तार हुन थालेको हो । अहिले ती क्षेत्रहरू सुन्तला उत्पादनका प्रमुख क्षेत्रका रूपमा परिचित बन्दै गएका छन् ।

संघीयता लागू भएपछि सुन्तला जात फलफूल विकास केन्द्रलाई थप आधुनिक प्रविधियुक्त बनाइएको छ । केन्द्रमा अहिले सुन्तला जातका बिरुवाको केन्द्रीय नर्सरी सञ्चालनमा छ भने तन्तु प्रजनन (टिस्यु कल्चर) प्रविधिबाट पनि बिरुवा उत्पादनको तयारी भइरहेको छ ।

यसबाट उत्पादन हुने गुणस्तरीय बिरुवा पाल्पामात्र नभई देशका २० भन्दा बढी जिल्लामा पुग्ने गरेको केन्द्रका प्राविधिक तथा सूचना अधिकारी सुदीप देवकोटाले जानकारी दिए ।

उनका अनुसार पछिल्ला केही वर्षदेखि सुन्तला र कागतीका बिरुवाको माग निरन्तर बढिरहेको छ । “हामीले उत्पादन बढाउँदै लगे पनि मागअनुसार बिरुवा उपलब्ध गराउन अझै सकेका छैनौँ,” उनले भने, “स्थानीय तहहरूले पनि सुन्तला तथा कागती खेतीलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न थालेपछि माग झन् बढेको हो ।”

गुल्मीको सत्यवती गाउँपालिकाका किसान वेदराम खनालले पाल्पाको केन्द्रमा उत्पादन भएका बिरुवा अन्य निजी नर्सरीका बिरुवाभन्दा गुणस्तरीय हुने विश्वास व्यक्त गरे । उनका अनुसार यहाँ उत्पादन भएका बिरुवामा रोग तथा कीराको प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले किसानको रोजाइमा पर्छन् ।

पाल्पाको तिनाउ गाउँपालिका–मस्यामकी अगुवा कृषक गोमा भण्डारीले पछिल्ला वर्षहरूमा कागती खेतीबाट समेत राम्रो आम्दानी हुन थालेपछि किसानहरूको आकर्षण उल्लेख्य रूपमा बढेको बताइन् । उनले स्थानीय, तेह्रथुमे र धनकुटे जातका कागती लगाएर व्यावसायिक उत्पादन गर्दै आएकी छन् ।

“कागतीको बजार राम्रो छ, बिक्रीका लागि समस्या छैन,” उनले भनिन्, “अन्य बालीभन्दा आम्दानी राम्रो हुने भएकाले अहिले धेरै किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।”

सुन्तला जात फलफूल विकास केन्द्रका तथ्याङ्कले पनि बिरुवाको माग र वितरण दुवै बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा केन्द्रले ३४ हजार ८७८ वटा सुन्तला, ६ हजार १५ वटा कागती र २८९ वटा जुनारका बिरुवा वितरण गरेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार ५४६ वटा सुन्तला, ६ हजार ४२० वटा कागती र ४१५ वटा जुनारका बिरुवा वितरण गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा २५ हजार ७७० वटा सुन्तला, ९ हजार ६१२ वटा कागती र ३७१ वटा जुनारका बिरुवा वितरण गरिएको केन्द्रको तथ्याङ्क छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले ३२ हजार ५८६ वटा सुन्तला, ९ हजार १७३ वटा कागती र ९०० वटा जुनारका बिरुवा वितरण गरेको छ। यी तथ्याङ्कले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको स्पष्ट देखाउँछन् ।

सूचना अधिकारी देवकोटाका अनुसार स्थानीय तहहरूले केन्द्रसँग समन्वय गरेर योजनाबद्ध रूपमा सुन्तला तथा कागती खेती विस्तार गर्न सके अझ धेरै किसान व्यावसायिक कृषि व्यवसायमा जोडिनेछन् ।

यसले बाँझो जमिनको सदुपयोग हुनुका साथै ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना हुने, बसाइसराइ कम हुने र किसानको आयआर्जनमा उल्लेख्य वृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?