Butwal Today

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

बनेपा (काभ्रे)। चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानका नेवार समुदायले मनाउने गुँला पर्व आज समापन हुँदै छ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेष गरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् ।

पर्वका क्रममा मौलिक बाजा बजाउँदै हाकुपटासी पहिरिएका महिलाले बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ ।

गुँला पर्वमा विशेष गरी नौ प्रकारका बाजा बजाउने चलन छ । पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायतका सहायक बाजा बजाइन्छन् । गुँला पर्वमा बजाइने भएकाले यी वाद्ययन्त्रलाई ‘गुँला बाजा’ भन्ने गरिन्छ ।

बनेपामा वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजन, धा, ताः, बाँसुरीलगायतका परम्परागत बाजाको धुनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखो नीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरले बताए । यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलन रहेको उनले जानकारी दिए ।

गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक सङ्गीत, बाजा, भजन, कला, संस्कृति तथा पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्त्वपूर्ण माध्यमसमेत हो । लोपोन्मुख मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु पर्वको मुख्य उद्देश्य रहेको अध्यक्ष मानन्धरले बताए ।

गुँला पर्वका अवसरमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमा गर्ने संस्कारमा सहभागी गराइन्छ । यसले पुस्तान्तरणमार्फत नेवार समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?