© 2026
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत घोषणा गरेको आयकरको नयाँ व्यवस्था साउन १ गते शुक्रबारदेखि लागू हुँदै छ ।
नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम आयकर दर १० प्रतिशत बिन्दुले घटाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार करदातामाथिको करको भार कम गर्ने उद्देश्यले आयकरको न्यूनतम सीमा बढाइएको हो ।
आर्थिक ऐन, २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य रोजगारी आय हुने व्यक्तिले अब १ प्रतिशत मात्र कर तिर्नुपर्नेछ ।
तर, एकलौटी फर्म दर्ता भएका करदाता तथा निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने यस व्यवस्था अनुसार कर लाग्ने छैन ।
नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्म करयोग्य आय हुनेले पहिलो १० लाख रुपैयाँमा १० हजार रुपैयाँ र त्यसभन्दा माथिको आयमा १० प्रतिशत आयकर तिर्नुपर्नेछ ।
त्यस्तै, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म करयोग्य आय हुनेले पहिलो १५ लाख रुपैयाँसम्म ६० हजार रुपैयाँ कर तिर्नुपर्नेछ भने १५ लाखभन्दा माथिको आयमा २० प्रतिशत कर लाग्नेछ ।
२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुनेले पहिलो २५ लाख रुपैयाँसम्म २ लाख ६० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । त्यसभन्दा माथिको आयमा २७ प्रतिशत आयकर लाग्नेछ । साथै, ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा थप २ प्रतिशत अतिरिक्त कर पनि लाग्ने व्यवस्था गरिएको छ ।
हाल लागू रहेको आयकर ऐन, २०५८ अनुसार एकल व्यक्तिको पहिलो ५ लाख रुपैयाँ र दम्पतीको पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था छ ।
त्यसभन्दा माथिको आयमा क्रमशः १० प्रतिशत, २० प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशतसम्म आयकर लाग्दै आएको छ भने ५० लाख रुपैयाँभन्दा बढी आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था कायम छ ।