© 2026
काठमाडौँ । मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यवसाय विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि वित्तीय अनुशासन, जिम्मेवार बैङ्किङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बैङ्कले आफ्नो व्यावसायिक आधारलाई थप सुदृढ बनाएको बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा पाँच खर्ब तीन अर्ब रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षको हालसम्म बढेर छ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १२३ अर्ब रुपैयाँ अर्थात् २४ प्रतिशतले बढी हो ।
यस अवधिमा बैङ्कको निक्षेप बजार हिस्सा ७.५९ प्रतिशत पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैङ्कले तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा समग्र बैङ्किङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा रहेको बैङ्कले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५.७४ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ ।
समग्र अर्थतन्त्रमा कर्जाको माग सुस्त रहे पनि बैङ्कले उद्योगको औसतभन्दा उच्च दरमा कर्जा विस्तार गर्न सफल भएको उनले बताए । उनका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैङ्कले १३.२६ प्रतिशत वार्षिक कर्जा वृद्धि गर्दै कुल तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
‘सोही अवधिमा वाणिज्य बैङ्कहरूको कर्जा वृद्धि ७.४३ प्रतिशत मात्रै रहँदा कुल कर्जा प्रवाह ५२ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने ।
बैङ्कले व्यवसाय विस्तारसँगै आफ्नो वित्तीय अवस्था पनि सुदृढ बनाएको जनाएको छ । चैत मसान्तसम्म बैङ्कको प्रतिशेयर किताबी मूल्य ३५१ रुपैयाँ ९८ पैसा र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा पुगेको छ । सोही अवधिमा बैङ्कले दुई अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
निष्क्रिय कर्जा व्यवस्थापनमा पनि बैङ्कले सुधार गरेको जनाएको छ । चैत मसान्तसम्म समग्र बैङ्किङ क्षेत्रको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा राष्ट्रिय वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.४८ प्रतिशतमा सीमित रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।
उनले खराब कर्जा थप घटाउन दीर्घकालीन रणनीतिअनुसार काम भइरहेको जानकारी दिए ।
हाल बैङ्कले सातै प्रदेशका ७७ जिल्लामा ३१६ शाखा, ३३४ एटिएम, एक लाख ४७ हजार क्यूआर मर्चेन्ट तथा २० लाख ६२ हजार मोबाइल बैङ्किङ प्रयोगकर्तामार्फत ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
बैङ्कका अनुसार वर्तमान आर्थिक चुनौतीका बाबजुद केयर रेटिङ्स नेपालले बैङ्कको संस्थागत साख मूल्याङ्कनलाई ‘ए प्लस’ मा पुनः पुष्टि गरेको छ । साथै, सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैङ्कका रूपमा राष्ट्रियस्तरमा सम्मानित भइसकेको पनि बैङ्कले जनाएको छ । रासस