© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा रेडियो जागरण बुटवलको समन्वयमा आयोजित दुईदिने ‘विभेद विरुद्ध बृहत् अन्तरसंवाद’ कार्यक्रम पाँच बुँदे साझा संकल्प जारी गर्दै सम्पन्न भएको छ।असार १३ र १४ गते सञ्चालन भएको कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए। कार्यक्रममा दलित अधिकारकर्मी, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धर्मका धर्मगुरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
दुई दिनसम्म विभिन्न पाँच विषयमा भएको गहन छलफलपछि सहभागीहरूले बुटवल उपमहानगरपालिका तथा सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पाँच बुँदे साझा संकल्प पारित गरेका छन्।
साझा संकल्पका मुख्य बुँदा
१)संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्त तथा जातीय विभेद र छुवाछुत अन्त्यसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न माग।
२) बुटवल उपमहानगरपालिकाले समावेशी नीति, कार्यक्रम र बजेट तर्जुमा गरी दलित अधिकारसम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन गर्न आग्रह।
३ं जातीय छुवाछुत अन्त्यका लागि धार्मिक तथा सांस्कृतिक क्षेत्रबाट विशेष अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध।
४) दलित समुदायको आर्थिक सशक्तीकरणका लागि उत्पादनमुखी कार्यक्रम, प्रभावकारी अनुगमन तथा बजार व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग माग।
५) राज्य सञ्चालनका सबै तहमा दलित समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्दै आवश्यक कानुन निर्माण र कार्यान्वयन गर्न आग्रह।
कार्यक्रममा वक्ताहरूले कानुनी व्यवस्था भए पनि व्यवहारमा दलित समुदायले अझै न्यायको अनुभूति गर्न नसकेको उल्लेख गर्दै विभेद अन्त्यका लागि स्थानीय सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। समापन कार्यक्रममा अनुसन्धानकर्ता जेबी विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल तथा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनार र सुनिता खड्लुकले मन्तव्य व्यक्त गरेका थिए। कार्यपालिका सदस्य यम सुनारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन रेडियो जागरणका स्टेशन म्यानेजर विनोद परियारले गरेका थिए।