© 2026
बुटवल । महिला समानताका लागि सञ्चार अभियानको आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा उपप्रमुखसँग महिला पत्रकार विषयक ‘पत्रकार महिलाको अवस्था, चुनौती र अवसर’ सम्बन्धी कार्यशाला–गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले देशको राजनीतिक अवस्था, निर्वाचन र विभिन्न घटनाक्रमका कारण पालिकाका धेरै कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइन्। उनले भदौ २३ र २४ गतेका घटनाले भौतिक संरचनामा क्षति पुगेको र मनोबलसमेत घटेको स्मरण गर्दै त्यसको असर कार्यक्रम सञ्चालनमा परेको उल्लेख गरिन्। उनले महिला पत्रकारले एउटै समाचार संकलन गर्न पनि धेरै चुनौती सामना गर्नुपरेको बताउँदै अहिले राज्यसँगका विभिन्न विषयमा पनि संघर्ष गर्नुपर्ने अवस्था रहेको बताइन्। बुटवल उपमहानगरपालिकाले न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिँदै उनले ३०० भन्दा बढी मुद्दा पालिकामै मिलापत्र गरिएको र १० वटा मात्रै अदालत पुगेको बताइन्। महिला र बालबालिकाको संरक्षण तथा अभिभावकत्वमा पनि पालिकाले प्राथमिकता दिएको उनको भनाइ थियो। उपप्रमुख अर्यालले महिलाको अधिकार ३३ प्रतिशत प्रतिनिधित्वमा सीमित नरहेको उल्लेख गर्दै अब महिलाको लडाइँ बाँकी रहेको १७ प्रतिशत अधिकार सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताइन्। “धैर्य गरौँ, भविष्य महिलाले नेतृत्व गर्नेछ,” उनले भनिन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले सरकारी तथा निजी सञ्चारमाध्यम दुवै नीतिगत निर्णयका कारण संकटमा परेको बताइन्। संघीय सरकारका केही निर्णय संविधान र संघीयताको मर्मविपरीत रहेको उल्लेख गर्दै उनले यसलाई सञ्चार क्षेत्रमाथिको आर्थिक नाकाबन्दी लगाएको बताईन। स्थानीय तह र प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्दै सञ्चारमाध्यमलाई सहजीकरण गर्नुपर्ने उनको आग्रह थियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले असार महिनामा बजेट सक्ने उद्देश्यले मात्रै कार्यक्रम सञ्चालन गर्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै यस्तो अभ्यास सुधार गर्न सरकारलाई सुझाव दिए। त्यस्तै पत्रकार महासंघ लुम्बिनिका उपाध्यक्ष रामप्रसाद आचार्यले महिला पत्रकारका लागि सामाजिक तथा कार्यस्थलका चुनौती धेरै रहे पनि ती चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले कामकाजी महिलाले घरको जिम्मेवारीसँगै पत्रकारिता सन्तुलन गर्न कठिनाइ भोग्नुपरेको बताए। पत्रकार महिलाले कार्यस्थल र फिल्डमा सुरक्षा चुनौतीसमेत सामना गर्नुपरेको उनको भनाइ थियो। उनले ‘जेनजी आन्दोलन’का कारण उपमहानगरपालिकाका धेरै कार्यक्रम प्रभावित भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सरकारले सञ्चारमाध्यमप्रति अंकुश लगाउने खालका निर्णय गरेको भन्दै त्यसले सञ्चार क्षेत्र प्रभावित भएको बताए। उनले सेमिनार, गोष्ठी र तालिमसमेत प्रभावित भएको उल्लेख गर्दै पत्रकारिता सुधार आजको आवश्यकता भएको धारणा राखे। “हामी फेसबुके पत्रकार होइन, जिम्मेवार पत्रकार बन्नुपर्छ,” उनले भने, “सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति सम्मानको वातावरण निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो।”
कार्यक्रमका अध्यक्ष कविता अर्यालले पत्रकार महिलाले चुनौतीलाई चिर्दै अवसरको खोजी गर्नुपर्नेमा जोड दिँदै महिला सशक्त भए मात्रै समाज सशक्त बन्ने धारणा व्यक्त गरिन्। उद्घाटन सत्रपछि आयोजित पहिलो सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले ‘पत्रकार महिलाको अवस्था, चुनौती र अवसर’ विषयमा प्रशिक्षण दिएकि थिइन्।