Butwal Today

मंगलबारपछि मनसुन सक्रिय हुने धेरै स्थानमा भारी वर्षाको सम्भावना

१३ असार २०८३, शनिबार
अ+
अ-

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी सातादेखि मनसुन उल्लेखनीय रूपमा सक्रिय हुने र देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ। शनिबार साँझ सार्वजनिक गरिएको मौसम बुलेटिन अनुसार आइतबारदेखि मनसुन थप सक्रिय हुँदै जानेछ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल केही स्थानमा भारी वर्षा भइरहेकाले आगामी साताभर देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ। मंगलबारपछि भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने उनले बताए।

आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति पनि कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने तथा कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको तराई र लुम्बिनी प्रदेशको पश्चिमी तराईमा तातो लहरको सम्भावना कायमै रहने जनाइएको छ।

सोमबारदेखि वर्षा थप बढ्ने पूर्वानुमान गरिएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने, पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना छ।

सोमबार रातिदेखि मनसुन अझ सक्रिय हुने र कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन थप सक्रिय रहनेछ भने असार १६ देखि १८ गतेको अवधिमा भारी वर्षाको सम्भावना उच्च रहेको छ। उनका अनुसार सोमबारपछि बाँकेदेखि कञ्चनपुरसम्म पश्चिम नेपालका अधिकांश क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको छ।
विभागले भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावित प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?