© 2026
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आगामी ३/४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। महाशाखाको जानकारी अनुसार शनिबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी ३र४ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको हो।
यस वर्ष मनसुन सरदर मिति जुन १/३ भन्दा ६ दिन ढिलो, असार ५ गते जुन १९ कोसी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि असार ८ गतेसम्म आइपुग्दा यो लुम्बिनी प्रदेशसम्म फैलिएको थियो। हाल मनसुन कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानसम्म फैलिएको महाशाखाले जनाएको छ। देशका बाँकी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, कोसी प्रदेशको तराई तथा मधेसका थोरै स्थान, बागमती र गण्डकीका तराईका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोसी प्रदेशका पहाडी र तराईका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकामा अपराह्न वा साँझपख हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उनका अनुसार बिहान लागेको बादल क्रमशः हटेर केहीबेर घाम लाग्ने सम्भावना रहे पनि दिउँसोपछि पुनः बादल विकसित भई खण्डित ९एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने० रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।