© 2026
गताङ्कको बाँकी
चौथो दिनः
यात्राको चौथो दिन बिहान ९:०० बजे विर्तामोड उद्योग वाणिज्य संघ सचिवालयमा पुग्दा संघका अध्यक्ष राजु न्यौपाने, पूर्व अध्यक्ष एवम महासंघका पूर्व कार्यकारिणी सदस्य उमेश डालमिया लगायतका साथीहरूले भब्य स्वागत गर्नुभयो ।
साबिकको मेची अंचलको मूख्य ब्यापारिक केन्द्र विर्तामोडमा रहेको उद्योग वाणिज्य संघ भएकोले विर्तामोड उवासंघका गतिविधिले समग्र मेचीका तराई र पहाडी जिल्ला नगर उद्योग वाणिज्य संघहरूमा समेत सन्देश प्रवाह हुने जानकारी सहित स्थानिय तहसंगको असल अभ्यासको चर्चा समेत गरियो । राजुजी र उमेश दाइको महासंघको निर्वाचन परिणामले अन्तरक्रियामा धेरै रमाइलो बनाएन ।
तथापी आगामी दिनहरूमा सहकार्यको प्रतिबद्धता सहित बुटवल उद्योग वाणिज्य संघमा भ्रमणका लागि निमन्त्रणा गर्दै भद्रपुरतर्फ लागियो । भद्रपुरमा नेपाल उद्योग वाणिज्य महासंघका सस्थापकमध्येका दुई संस्थामध्ये पहिले झापा उद्योग वाणिज्य संघमा जाने कार्यक्रम तय भएकोमा झापा उद्योग संघमा पुगियो ।
वर्तमानमा पर्वतमा जन्मिएर चितवनमा ब्यवसायीक क्यारियर शुरु गरेको ब्यक्ति यमबहादुर श्रेष्ठ दाई अध्यक्ष हुनु र नेउवा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र पूर्व उपाध्यक्ष हेमराज ढकालको पनि मातृसंस्था भएको कारण यसप्रति गहिरो चासो थियो । संक्षिप्त रूपमा भेटघाट तथा अन्तरक्रिया गरि लामो पर्खाइमा रहनु भएका छिमेकी झापा उद्योग वाणिज्य संघको सचिवालयतर्फ लाग्यौँ ।
झापा उद्योग संघबाट मुस्किलले पाँचसय मिटरको दुरीमा रहेको झापा उद्योग वाणिज्य संघमा संयोगले बाहिर भएको अबस्था भएतापनि कार्यवाहक अध्यक्ष बाबुराम उप्रेती र महासचिव सुमन मैनालीको समन्वयकारी र नेतृत्वदायी भूमिकाले मूल नेतृत्व नभएको आभास नै हुन पाएन ।
हार्दिकतापूर्ण र शिष्टाचारयुक्त भेटघाटले आपसी विश्वास बढाउनुको साथै आगामी वर्षहरूमा एजेण्डा र नेतृत्व निर्माणमा सहकार्यको वातावरण निर्माण भएको महसुस दुवै पक्षले ग¥यौँ । औपचारिक कार्यक्रम पश्चात् आन्तरिक पर्यटकीय गन्तव्य चिरपरित होटल उडल्याण्डमा दिवा खाना खाएर हामी नेपालको मुख्य पर्यटकीय गन्तव्य इलामको कन्यामतिर लाग्यौँ ।
भद्रपुरबाट चारआली हुँदै कन्यामतिर जाँदै गर्दा पहिलोपटक यात्रा गर्ने साथीको त मुटुको धड्कन नै बढे जस्तो भएको थियो भने पटके यात्रीमा पनि उत्तिकै उत्साह भरिएको थियो । सम्म परेका ठाउँमा सुपारी बगैचाले सुनमा सुगन्ध थपिदिए जस्तै बनायो ।
हर्कटे नपुग्दै हरियालीयुक्त पहाड र घुम्ती घुम्तीबाट देखिने समथर तराईले कसको मन आनन्दित नहोला । कन्यामको सुप्रसिद्ध भ्युप्वाइण्टमा पुगेर उत्तरतिर हेर्दा हिमालले खास्टो ओडेको बेला परेछ । चिसो मौसम, चिया बगानको हरियाली,आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले सबै साथीहरू मन्त्रमुग्ध हुनुहुन्थ्यो ।
धेरै साथीहरू आ–आफ्नै किसिमले रमाइरहनु भएको थियो तर हामी केही अगुवा साथीहरू भने रात्री बासको खोजीमा लाग्यौँ । म र टंक दाई, सुरजजी र वसन्त दाई, बिमलजी, (मुक्ती, निर्मित) गरि छुट्टाछुट्टै किसिमले होटलको ब्यवस्थापनमा लाग्यौँ । हामीले हेरेका धेरै होटल मध्येको तुलनात्मक हिसावले उपयुक्त होटलमा बस्ने तय भयो । कन्यामको चिसोले धेरैलाई च्यालेन्ज गरेको थियो ।
हामी पनि के कम धरानेका साथमा मुठ्ठेक लिएपछि जाडोको त भागाभाग नै भयो । अर्को दिन बिहान ६ बजे तयार भई निस्कने उर्दी जारी गरि खेल्न र सुत्नतिर लागियो ।
पाँचौ दिन
सबैजसो साथी निर्धारित समयमै झरिसक्नु भएको थियो । अलिअली सिंगल, डवल र समूहमा फोटो खिचेर ६ः३० बजे हामी होटलबाट निस्कियौँ । चिया बगान भित्र पसेर फोटो खिच्ने धित अझै कसैकसैमा देखिएकोले एक ठाउँ गाडी रोकेर १० मिनेट फोटोका लागि समय छुट्यायौ । अब गाडी एक्सप्रेस जस्तै गुड्न लाग्यो । हर्कटेबाट तल झर्दैगर्दा गाडीभित्र प्लास्टिक जलेको जस्तो गन्ध आयो ।
ड्राइभरले ब्रेक सु तातेर हो केही हुदैन भनेर सान्त्वना दिए पछि हामी पनि निर्धक्क भयौँ । सम्मोमा पुगेपछी पिसाव बिसर्जन गरि चिया खाजा खाने कुरा भयो र गाडी रोकियो । काशीराम दाइले लगेको भुटेको दालमोठ, नमकिन र ड्राइफ्रुट्स मिश्रित भुटेको चिउरा र चिया पिएर हामी चारआलीतिर लाग्यौँ । रेनु बहिनी पूर्व निर्धारित कार्यक्रम अनुसार विशेष कामले काठमाण्डौ जानुपर्ने भएकोले ११ बजे भद्रपुरबाट बाईप्लेन काठमाण्डौ जान एयरपोर्टसम्म लिफ्ट दिन झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीजी चारआलीमा पर्खिराख्नु भएको थियो ।
हामीले रेनुलाई विदा गरि हाम्रो विहानी गन्तव्य इटहरीतर्फ लाग्यौँ । करिव ११ बजेको सेरोफेरोमा हामी इटहरी पुगी सरासर संघ सचिवालयमा पुगियो । हामी पुग्दै गर्दा अध्यक्ष जीवन पराजुली र नेउवा महासंघका कार्यकारिणी सदस्य नवीन रिजाल र इटहरीका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पर्खिरहनु भएको थियो ।
केही समय पहिले सम्पन्न नेउवा महासंघको साधारण सभा तथा निर्वाचन कार्यक्रमा कोशी प्रदेशको भूगोलबाट कार्यकारिणी सदस्यमा निर्वाचित जीवन पराजुलीलाई बधाई दिदै जिल्ला नगर उद्योग वाणिज्य संघ प्रभावकारी क्रियाकलापका लागि स्थानिय तहसंगको विश्वासिलो सहकार्य र संघीय सरकारसंग नेउवा महासंघले उद्योग र ब्यवसायी मैत्री कानुन निर्माणमा दवाब सिर्जना गर्न सक्नुपर्ने निष्कर्ष सहित आपसी भाईचारा, सद्भाव र सहकार्यको प्रतिवद्धता सहित दुबै संघका पदाधिकारी तथा सदस्यहरूबाट अनुभवको आदान प्रदान गरियो ।
सुरजजी बिराटनगरबाट काठमाण्डौ जानुपर्ने १।४० को फ्लाइट भएकोले आदरणीय नवीन रिजाल दाईसंग एयरपोर्टतिर लाग्नुभयो । हामी अध्यक्ष जिवन पराजुलीज्यूको होटल तिर लाग्यौँ । खाना पछि सिन्धुली जानेक्रममा चतराधामको संक्षिप्त दर्शन पश्चात् करिव रातको ९ बजे तिर सिन्धुली उद्योग वाणिज्य संघ सचिवालयमा पुग्यौँ । रात छिप्पिदै थियो ।
अध्यक्ष अर्जुन श्रेष्ठ, निवर्तमान अध्यक्ष अमरेश वैदवार, पदाधिकारी तथा सदस्य साथीहरूको उल्लेख्य उपस्थिति देख्दा नेतृत्व प्रतिको भरोसा र अतिथी प्रतिको सम्मान झल्कन्थ्यो । दुई संस्थाबीचको आपसी सम्बन्ध र विश्वास नमुना योग्य रहेको र आगामी वर्षहरूमा यो सम्बन्धलाई बचाइ राख्ने दायित्व बर्तमानका दुबै संस्थाका पदाधिकारी तथा सदस्यको काँधमा आएको भनाई दुबै संस्थाका नेतृत्वकर्ताबाट अभिब्यक्त भएको थियो । रात्रीकालीन खाना तथा आवासको ब्यवस्थापन समेत सिन्धुली उद्योग वाणिज्य संघको तर्फबाट गरिएको थियो ।
अर्को दिन बिहान ८।०० बजे सिन्धुलीबाट प्रस्थान गरि चितवनको खैरहनी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुन जाने गरि तैयारी हुन सुचित गरि पाँचौ दिनको यात्राको बिट मारियो ।
छैठौं दिन
निर्धारित समयमै हामी सबै तयार भई सिन्धुलीबाटै काठमाण्डौ जाने हाम्रो टोलीकी सदस्य जमुना पौडेलसंग विदा भई चितवनका लागि प्रस्थान गर्यौ । मदन भण्डारी हाइवेको सिन्धुली हेटौडा खण्डको श्रीपुर भन्ने स्थानमा १०:३० बजे विहान चिया (खाजा खाएर हामी हेटौडा हुँदै चितवनको कान्छो उद्योग वाणिज्य संघ खैरहानी तिर लाग्यौँ ।
करिव १२:३० तिर पर्सा चौराहा स्थित खैरहानी उद्योग वाणिज्य संघ पुग्दा संघका अध्यक्ष कुमार खनाल, निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतका पदाधिकारी सदस्य हाम्रो प्रतिक्षामा बसिरहनु भएको थियो । ब्यक्तिगत रूपमा कुमारजी मेरो करिव २५ वर्ष पुरानो करोवारी साथी भएको हुनाले पनि मलाई अलि छुट्टै अनुभूति भएको थियो । खैरहनीका सबै साथीहरूको हार्दिकतापूर्ण र आत्मीय स्वागतले बुटवल उवासंघका सबै साथीहरूमा उर्जा भरिएको महसुस सहजै गर्न सकिन्थ्यो ।
त्यसपछि हाम्रो टोली समग्र यात्राको अन्तिम उद्योग वाणिज्य संघ रत्ननगर उद्योग वाणिज्य संघ, टाँडी चितवनमा भेटघाटका लागि त्यतातर्फ लाग्यौ । नेउवा महासंघको ६० औं साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट कार्यकारिणी सदस्यमा निर्वाचित रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरीसंग निर्वाचन अभियान र प्रकृयामा संगसगै भएको हुँदा छुट्टै खालको सम्बन्ध बिकास भएका कारण पनि परिवारका सदस्यको पुनर्मिलन जस्तै भयो ।
कार्यक्रममा रत्ननगर उवासंघका संस्थापक अध्यक्ष समेतको उपस्थितिले इतिहास बुझ्ने अबसर समेत मिल्यो । दुबै उद्योग वाणिज्य संघहरूले अबलम्वन गरेका नीति र ब्यवसायी मैत्री कार्यक्रमको एकआपसमा जानकारी गराई नेउवा महासंघले प्रस्तुत गर्ने विषयबस्तु र ब्यवसायमैत्री एजेण्डामा सहकार्यको प्रतिवद्धता गर्दै बिदा भयौँ ।
त्यस पछि हामी चितवनका प्रमुख जिल्ला अधिकारी कुशल प्रशासक गणेश अर्याल जो रूपन्देहीमा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहँदा (सेवा प्रवाहका दृष्टिले उत्कृष्ट जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको रूपमा नेपाल सरकारबाट पुरस्कृत हुनुभएको थियो) संग अनौपचारिक शिष्टाचार भेट गर्ने गरि सिएमसीको प्राङ्गणमा पुगी भलाकुसारी र आत्मीयता साटासाट गरि एउटा सामूहिक फोटो लिएर बुटवलतिर लाग्यौँ ।
बुटवल जतिजति नजिकिदै थियो साथीहरूमा उतिउती गाम्भिर्यता बढ्दै थियो । ६ दिनको अनवरत यात्राका रमाइला पलहरू सबैका मनमष्तिष्कमा घुमिरहेका भएर पनि होला । अरूणखोला आएपछि ताजा फर्सीका मुण्टा र हरिया काँक्राहरू गाडीबाटै देखेपछी दुम्किबासमा बिमलजीको पुरानो इष्ट चौधरीजीको होटलमा पकाएर यात्राको अन्तिम छाक संगै खाएर जाने भनी किन्नुभयो ।
चौधरीजीको होटलमा आइ श्रीपुरबाट ल्याएको प्रोसेसिङ वाटर लोकल कुखुराको मासु र स्लादका साथमा अमृत भोजन गरि रमाइलो मुडमा गाडीभित्रै नाचगान गर्दै करिव १० बजे राती बुटवल उद्योग वाणिज्य संघको सचिवालय आइपुग्यौँ ।
उपसंहार
बुटवल उद्योग वाणिज्य संघले स्थापना कालदेखि वर्तमानसम्म धेरै जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई स्वागत गरिए होला र बुटवल उद्योग वाणिज्य संघको टोलीलाई पनि धेरै उद्योग वाणिज्य संघहरूले स्वागत गर्नु भए होला ।
त्यसैको निरन्तरता स्वरूप २०८३ जेष्ठ १२ देखि १७ गतेसम्मको ६ दिवसीय यात्रा हो । यस यात्राले बुटवल उद्योग वाणिज्य संघसंगको संस्थागत सम्वन्धलाई सुदृढ बनाउन केही न केही मद्दत पु¥याउने छ । नेउवा महासंघको संस्थापक मध्येको प्रभावशाली संस्थाको रूपमा विश्वासिलो भूमिका निर्वाह गर्न पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गर्न सकिन्छ ।
धेरै वर्षदेखि रोकिएको हाम्रो अध्ययन अबलोकन यात्राले संघका पदाधिकारी, सदस्य र कर्मचारीमा उर्जा प्रदान गरेको छ । संघले निरन्तरता दिनु पर्ने कार्यक्रम, सुधार गर्नुपर्ने कुरा र नयाँ शुरु गर्नुपर्ने विषयको पहिचान गरि सशक्त र प्रभावशाली उद्योग वाणिज्य संघको रूपमा स्थापित गराउन बल पुग्ने आशा एवम विश्वास गर्दछु ।
समाप्त ।