Butwal Today

 लागूपदार्थ नियन्त्रणमा ध्यान जाओस्  

१२ असार २०८३, शुक्रबार
अ+
अ-

‘सचेत युवा, सुरक्षित भविष्य, लागू औषधविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागूपदार्थ तथा ओसारपसार विरुद्धको दिवस आज मनाईदैछ । लागू औषध होइन, अव जीवनलाई रोज्ने हो भने युवा जमातले अव यसको प्रयोग, ओसारपसारमा संलग्न हुनुहुँदैन ।

अझै पनि जेनजी युवाहरू यो कुलतमा फसेका छन् । जसका कारण नेपाल कतै लागू औषध तथा पदार्थको ओसारपसारको ट्रान्जिट बन्ने त होइन भन्ने चिन्ता उत्पन्न भएको छ । लागू औषध त्याग गर्न सकेमात्रै स्वस्थ समाज निर्माण हुन सक्दछ । यो मन्त्रलाई आत्मसाथ गर्नु जरुरी छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९८७ को घोषणापत्र अनुसार हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिएको छ । आज मनाइँदै गरेको दिवस विश्व भरी मनाइन लागेको सन्दर्भमा लागूपदार्थका कारण विश्वले पछिल्लो समय ठुलो चुनौतीको सामना खेप्नुपरिरहेको छ ।

नेपालकै सन्दर्भमा कुरा गर्दा युवाहरू कुलतको जालोमा फसेका छन् । यो भड्खालोबाट छुटकारा पाउन अत्यन्त मुस्किल पर्ने गरेको छ । विश्वमा पछिल्लो समय लागूऔषधको कारोबार धेरै बढेको देखिएको छ । लागूऔषधको प्रयोगले मात्र विश्वमा हरेक वर्ष २२ लाख मानिसको मृत्यु हुने गरेको तथ्याँक सार्वजनिक भएको छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल यो समस्याको ठुलो समस्यामा परेको छ ।

अझ भनौं नेपालका जेनजी युवा जसको हातमा कलम कापी हुनुपर्दछ, उनीहरूको हातमा लागू औषध र कारोबार हुने गरेको छ । यसको प्रयोगले युवाहरू कुलतको बाटोमात्र मात्रै होइन, यसबाट एचआइभी, हेपाटाइटिस लगायतका गंभीर रोगहरू हुने गरेको छ ।

आज यो दिवस मनाउँदै गर्दा नेपाल सरकार, प्रदेश र पालिका तथा स्थानीय समाज र समुदायले लागूपदार्थ नियन्त्रणमा ऐक्यबद्धतामात्रै होइन, प्रतिवद्धता गर्नु जरुरी छ । खासगरी नेपाल सरकारले युवालक्षित कार्यक्रम ल्याउन सकेकमो खण्डमा र युवालाई सिर्जनशीलताको क्षेत्रमा परिचालित गराएको अवस्थामा लागू औषध र दुव्र्यसन नियन्त्रणमा ठुलो सफलता हासिल हुनेछ ।

तसर्थ आजको यो महत्वपूर्ण दिनमा सवैले हातेमालो गर्दै लागूऔषधको कारोबार र तस्करका विरुद्ध एक हुने प्रतिवद्धता गर्नुपर्दछ । युवा उमेरमा युवाहरू कुलतमा लाग्ने ठुलो जोखिम हुन्छ । अतः लागूपदार्थ नियन्त्रणमा सवैभन्दा पहिले परिवार, समाज, सरकार र सिंगो राष्ट्रको अह्म दायित्व हो । दिवसको यही अवसरमा लागूऔषधविरुद्ध राष्ट्रिय ऐक्यबद्धता अति आवश्यक छ ।

लागूपदार्थकै कारण घर, परिवार र समाजमाथि ठुलो आघात पुगेको छ । परिवार लथालिङ्ग भएको अवस्था छ । नेपालको कुरा गर्दा पछिल्लो समय नेपालमा लागू औषधको प्रयोग गंभीर चुनौति बन्दै गएको छ । यसको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालको युवा जनशक्ति यसको कुलतमा परेको छ । अहिले नयाँ सरकार आएको छ ।

अव नयाँ सरकारले कुलतमा फसेका युवालाई कसरी संस्कारी बनाउँछ ? त्यो हेर्न बाँकी छ । नेपालमा लागू औषधको प्रयोगकर्ता बढ्नु तथा अपराधको दर बढ्दै जानु र अवैध कारोबार बढ्नु चिन्ताजनक कुरा हो ।

यसको नियन्त्रणका लागि स्वस्थ, सभ्य र समुन्नत समाज निर्माण गर्नु जरुरी छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुव्र्यसनमा फस्दा परिवार, समाज र राष्ट्रका लागि हानी हुने निश्चित छ । यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत बाधा पुग्नुका साथै स्वस्थ, सभ्य अपराधमुक्त समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौती खडा हुन्छ ।

अतः लागूऔषधविरुद्धको यो दिवस विश्व दिवस पनि भएकोले नेपालले मात्रै होइन सारा विश्वले यसको कुलत, प्रभाव र ओसारपसार नियन्त्रणको उपाय खोज्न ढिलाई गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?