Butwal Today

मनसुनजन्य विपदका लागी ५४ स्थानमा ८ हजार बढी सुरक्षाकर्मी हाई अलर्टमा

११ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपालले देशभरका ५४ संवेदनशील स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न हजारौं सुरक्षाकर्मी तयारी अवस्थामा राखिएका छन्।

सशस्त्र प्रहरीका अनुसार यस वर्षको मनसुन व्यवस्थापनका लागि ८ हजार १८० जना सुरक्षाकर्मी २४ सै घण्टा ‘हाई अलर्ट’ मा रहेका छन्। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ८२ वटा र्‍याफ्ट बोट, ५३ वटा मोटर बोट, १३४ जना तालिमप्राप्त गोताखोर तथा ४ हजार ७१० जना दक्ष उद्धारकर्मीलाई जोखिमयुक्त क्षेत्रमा परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनका कारण देशभर करिब २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका अनुसार लुम्बिनी, कोशी र मधेश प्रदेश सबैभन्दा बढी जोखिममा रहेका क्षेत्र हुन्।

विपद्सम्बन्धी सूचना छिटो संकलन तथा आदानप्रदानका लागि सशस्त्र प्रहरीले १ लाख ६८ हजारभन्दा बढी नागरिक सहभागी रहेको ‘विपद् सूचक सञ्जाल’ समेत सञ्चालनमा ल्याएको छ। मनसुन सक्रिय भएसँगै सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरू सम्भावित विपत्तिको सामना गर्न आवश्यक तयारी र समन्वयमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?