Butwal Today

‘जीवनका आधार: योग र सङ्गीत’ 

७ असार २०८३, आइतबार
अ+
अ-

‘स्वास्थ्य बुढ्यौलीका लागि योगा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग तथा सङ्गीत दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदैछ । यो दिवसको नाराले धेरै कुरा सम्बोधन गरेको छ ।

वास्तवमा योगको महत्त्व अहिलेको युगमा वर्णन गरिरहनु पर्दैन । गुगलदेखि एआईसम्मले योगको लामो फेहरिस्तसहितको नालीबेली प्रस्तुत गरिदिन्छ । जेहोस योग नेपालबाटै उत्पत्ति भएको कुरामा कतै विमति छैन ।

योग उत्पत्तिको देश भएकोले पनि नेपालमा योग दिवस मनाउनुको महत्त्व बढिरहेको छ । आज योगसँगै सङ्गीत दिवस पनि हो । तसर्थ यो संयोग मात्रै होइन, वास्तवमा सङ्गीत मानव जीवनका लागि योग जत्तिकै महत्त्वपूर्ण छ ।

त्यसैले सङ्गीतले पनि योगको अर्थ र परिभाषा बोकेको छ । नेपालीका पुर्खा ध्यानका सर्जक हुन । सङ्गीतका सर्जक पनि हुन । अव योग र सङ्गीतलाई अव विश्व ध्यान केन्द्रका रूपमा स्थापना गर्नु आवश्यक छ । सङ्गीतबाट आउने ध्यानको महत्त्व सायद वर्णन गर्न सकिएला । हाम्रा ऋषिमुनिले योगलाई विगतमा जीवनपद्धति बनाएको स्मरण गर्नै पर्दछ ।

आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकोले यसको अभ्यास गर्नु जरुरी छ । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधी क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

योगलाई ध्यानको आधार मानिन्छ । योग र सङ्गीत एक अर्काका पर्याय हुन । योग र सङ्गीतको मानव जीवनमा अन्योन्याश्रित सम्वन्ध रहेको छ । सङ्गीतले पनि मानव जीवनलाई जोड्ने काम गर्दछ । तनाव न्यूनीकरणमा सङ्गीतको महत्त्वपूर्ण भूमिका छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो ।

नेपाल सरकारले वि. सं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । यद्यपि नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।

योगलाई संसारले स्वीकार गरेको छ । अतः भन्नैपर्दछ–योगको उत्पत्ति नेपालबाटै भएको हो । नेपाल योगको सृष्टिकर्ता हो । यसमा हामी नेपालीले गर्व गर्नै पर्दछ । योगलाई पहिले जातिगत आधारमा हेर्ने प्रचलन थियो । योग बाम्हणको कर्म भनिन्थ्यो तर त्यो भ्रम थियो ।

विस्तारै सत्यता बाहिर आउँदै गयो र आज सवै जातजाति, धर्म सम्प्रदाय सवैले योगलाई स्वीकार गरेका छन । सवैका लागि योग जीवनको स्वास्थ्य आधार बन्दै गएको छ । अझै ४० बर्ष उमेर पूरा भएकाहरूका लागि योग स्वास्थ्य जीवनको आधार बन्दै गएको छ ।

सवै धर्म समुदायले योगलाई जीवनपद्धती बनाउन सुरु गरेका छन् । अव योगसंग संगीतपनि पनि जोड्नु जरुरी भएको छ । सङ्गीतले पनि जीवन स्वच्छ र सार्थक बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । योग र सङ्गीत जीवनका दुई अभिन्न अंग हुन । सङ्गीत सुन्दै योग गर्दाको मज्जा जसले योग गर्छ उसले मात्रै बयान गर्न सक्छ । मानव जीवनलाई चुस्त र दुरुस्त राख्न यी दुवैको भूमिका महत्त्वपूर्ण छ ।

योग र सङ्गीत दिर्घायूका लागि पनि महत्त्वपूर्ण सिद्ध भैसकेको छ । संयुक्त राष्ट्रसंघले समेत योगको महत्त्व बुझेर योगलाई जीवनपद्धती बनाउनुपर्ने भन्दै योग दिवस मनाउन आह्वान गरेको हो । अतः योग नेपाली भूमिबाट विश्वभर फैलिएको सन्देश हामीले प्रवाह गर्नु जरुरी छ । योग स्वस्थताको आधार हो भन्ने मान्यता स्थापित गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?