© 2026
सिद्धार्थनगर । भव्य टर्मिनल भवन, अत्याधुनिक रनवे, झिलिमिली लाइटिङ र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारले भरिपूर्ण भएर पनि भित्र छिर्दा उत्तिकै विरक्त लाग्दो र सुनसान छ भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल ।
२०७९ साल जेठ २ गतेका दिन देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा तामझामका साथ उद्घाटन गरिएको यो राष्ट्रिय गौरवको आयोजना यति बेला कतिसम्म सुनसान छ भने यहाँ न त कुनै अन्तर्राष्ट्रिय विमानले नियमित उडान भर्छन्, न अवतरण नै गर्छन् ।
कथमकदाचित कुनै विदेशी जहाज झुक्किएर ओर्लियो भने मात्र यहाँको रनवेले पाङ्ग्रा टेक्न पाउँछ, तीन महिना बितिसकेको छ– यो विमानस्थल मरुभूमि जस्तै शून्यतामा हराउन थालेको ।
मुलुकमा भर्खरै नयाँ सरकार गठन भएको छ र आर्थिक समृद्धि, सुशासन तथा राष्ट्रिय आयोजनाहरूको सफल व्यवस्थापनका ठुला गफ दिने नयाँ सरकारका सामु अर्बौँको राष्ट्रिय लगानी बालुवामा पानी सरह भएको यो विमानस्थललाई ब्युँताउनु सबैभन्दा ठुलो र पेचिलो चुनौती बनेको छ । नीतिगत भ्रष्टाचार, काठमाडौँ केन्द्रित सिन्डिकेट, प्रशासनिक उदासीनता र कूटनीतिक अक्षमताका कारण कसरी एउटा अर्बौँको आयोजना सेतो हात्ती बनिरहेको छ भन्ने कुराको प्रत्यक्ष ऐना भैरहवा विमानस्थल बनेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार यो विमानस्थल २०७९ साल वैशाख ८ गतेदेखि अन्तर्राष्ट्रिय रूपमा सञ्चालनमा आएको हो र जेठ २ गते यसको भव्य उद्घाटन भएको थियो । उद्घाटनकै दिनदेखि जजिरा एयरवेजले कुवेतबाट यहाँ आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।
“जजिरा एयरवेजले यहाँ झन्डै डेढ वर्ष जति उडान ग¥यो”, महाप्रबन्धक साह भन्छन्, “त्यसबाहेक विभिन्न समयमा हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई र थाई एयरएसियाले पनि यहाँबाट उडानहरू भरेका थिए ।
तर, हाल व्यावसायिक उडान नियमित छैनन् । अहिले भारतबाट चार्टर र प्राइभेट विमानहरू आकलझुकल आइरहने गर्छन् ।” साहका अनुसार विमानस्थल ठप्प हुनुमा यात्रु अभाव मुख्य चुनौती हो । १८० सिट क्षमता भएका विमानहरूमा यात्रु सङ्ख्या जम्मा ५०–६० प्रतिशत मात्र हुने गरेको पाइयो ।
विशेष गरी बैंकक–भैरहवा उडान भर्ने थाई एयर एसियामा आउने यात्रुको सङ्ख्या त आधा पनि पुग्दैनथ्यो, यद्यपि यहाँबाट बाहिर जाने यात्रुको सङ्ख्या भने तुलनात्मक रूपमा (१०० देखि १५० सम्म) राम्रो देखिन्थ्यो । विगतमा ‘थाई एयर एसिया’ जस्ता विमानहरूमा आउने यात्रुहरूको सङ्ख्या निकै कम (१०–१५ जना मात्र) हुने गरेको र ६ महिनामा भएका करिब ५० उडानमध्ये २–३ उडानमा मात्र १०० भन्दा बढी यात्रु आएकाले उनीहरू घाटामा गएका थिए । “६० प्रतिशत भन्दा माथि अकुपेन्सी भएमा मात्र सञ्चालन खर्च उठ्ने हुँदा धेरैजसो कम्पनीहरू नोक्सानीमा परेका हुन्”, साह भन्छन् ।
यसबाहेक, ‘फ्लाई दुबई’ को कनेक्टिङ फ्लाइट (भैरहवा–काठमाडौँ) भएकाले यात्रु सङ्ख्या ठीकै थियो भने ‘जजिरा एयरवेज’ मा पनि कुवेतबाट आउने–जाने यात्रुहरूको सङ्ख्या औसतमा १०० भन्दा बढी नै हुने गरेको साहले जानकारी दिए ।
उनका अनुसार यात्रु कम हुनुका मुख्य कारणहरूमा लुम्बिनीको आवश्यक प्रचारप्रसार नहुनु, यहाँ आएका तेस्रो मुलुकका नागरिकहरूलाई भारत जाने सहज व्यवस्था (रुट) नमिल्नु र सरकारी निकाय (पर्यटन मन्त्रालय/बोर्ड) तथा काठमाडौँ केन्द्रित ठुला ट्राभल एजेन्सीहरूले भैरहवा विमानस्थललाई ‘मार्केट’का रूपमा प्रवर्द्धन गर्न चासो नदेखाउनु हुन् ।
नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नभएकाले यस विमानस्थलका लागि समर्पित (डेडिकेटेड ) विमान उपलब्ध गराउन सकेको छैन । काठमाडौँ केन्द्रित ठूला ट्राभल व्यवसायी र जनरल सेल्स एजेन्टहरूले भैरहवाको तुलनामा काठमाडौँको हवाई टिकट सस्तो बनाइदिने र भैरहवाबाट हुने उडानलाई पर्याप्त सहयोग नगर्ने गरेको साहको भनाइ छ ।
साथै, वैदेशिक रोजगारमा जाने युवाहरूको श्रम, मेडिकल, भिसा र अन्य सम्पूर्ण कागजी प्रक्रिया काठमाडौँमै हुने भएकाले यात्रुहरू उतै जान बाध्य छन् । म्यानपावर व्यवसायीहरूले थोरै टिकट सस्तो पर्ने लोभमा नेपाली युवाहरूलाई बसमार्फत दिल्ली वा कोलकाता पु¥याएर उडाउने तर भैरहवा विमानस्थललाई प्राथमिकता नदिने प्रवृत्ति देखिएकाले साहले नेपाल सरकारले गम्भीरताका साथ निजी क्षेत्र तथा बजारका मुख्य सञ्चालकहरूमाथि कडा निगरानी र निर्देशन दिनु आवश्यक रहेको औँल्याए ।
नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा विमानस्थल सञ्चालनका लागि भारतसँगको हवाई रुट र बेलहिया नाकाको ‘इ–भिसा’ समस्या तत्काल समाधान हुनुपर्ने बताउँछन् ।
“भारतबाट पर्याप्त रुट नहुँदा पश्चिमबाट आउने विमानहरू नजिकैको ‘अकिपु’ विन्दुबाट सिधै भैरहवा ओर्लन सक्ने भए पनि, हाल ९० नटिकल माइल पर सिमरा फन्को मारेर मात्र छिर्नुपर्ने बाध्यता छ,” थापा भन्छन्, यसले विमानस्थलको कार्यक्षमतामा ठुलो प्रश्न चिह्न खडा गरेको छ ।
थापाका अनुसार थाई एयर एसिया टिक्न नसक्नुमा बेलहिया नाकाको नीतिगत त्रुटि मुख्य कारण हो । ई–भिसा भएका तेस्रो मुलुकका विदेशी पर्यटकहरू अन्य नाकाबाट भारत जान पाए पनि भैरहवा नजिकैको बेलहिया नाकाबाट भारत प्रवेश गर्न पाउँदैनन् ।
यसले गर्दा बौद्ध पर्यटकहरू लुम्बिनी आएर स्थल मार्ग हुँदै भारतका बौद्ध गन्तव्यहरूमा जान पाउँदैनन् । उताबाट आउँदा जहाजमा जम्मा ४०–५५ जना मात्रै यात्रु आउनुको कारण यही नाकाको सकस हो ।
काठमाडौँको अत्यधिक एयर ट्राफिक कम गर्न ‘बजेट एयरलाइन्स’हरूलाई अनिवार्य रूपमा भैरहवा पठाउने ‘फोर्स रुलिङ’ (बाध्यकारी नियम) ल्याउनुपर्ने र काठमाडौँमा शुल्क बढाएर भैरहवामा इन्धन, नेभिगेसन र ग्राउन्ड ह्यान्डलिङमा थप सहुलियत दिए जहाजहरू स्वतः आकर्षित हुने थापाको सुझाव छ ।
साथै, भिसा सेन्टर, मेडिकल र श्रम कार्यालयहरू भैरहवामै स्थापना गरिनुपर्ने र काठमाडौँ सारिएको ‘नेपाल पर्यटन बोर्ड’को सम्पर्क कार्यालय पुनः यहाँ अनिवार्य ल्याउनुपर्ने उनले बताए ।
सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) लुम्बिनीका अध्यक्ष सञ्जय बजिमय सरकारी नीतिकै कारण नेपालमा पर्यटन लागत महँगो भएको बताउँछन् । हवाई टिकटमा लगाइएको भ्याट र तेहेरो कर (स्थानीय, प्रदेश र केन्द्र) का कारण पर्यटक आगमन र हवाई यात्रामा ह्रास आएको उनको विश्लेषण छ ।
“करको दायरा बढाउनुपर्छ तर पर्यटकमाथि करको बोझ थप्नु हुँदैन,” बजिमय भन्छन् । “भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको एकतर्फी भाडा काठमाडौँको भन्दा महँगो (करिब ५७ हजार रुपैयाँसम्म) छ । आउने–जाने गर्दा १ लाखभन्दा बढी पर्छ, जुन वैदेशिक रोजगारमा जाने विपन्न नेपालीका लागि निकै ठुलो भार हो ।”
विगतमा जजिरा एयरवेजले काठमाडौँभन्दा सस्तो भाडा राखेर ९० प्रतिशत सम्म अकुपेन्सी पाएको उदाहरण दिँदै उनले भैरहवामा ल्यान्डिङ, पार्किङ र इन्धनमा पाइने छुटलाई उपयोग गरी भाडा १०–१५ प्रतिशत सस्तो बनाउनुपर्ने सुझाए । पर्यटन क्षेत्रको अर्बौँ लगानी जोगाउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्नुपर्ने र बुद्धिजम, हिन्दुजम र टुरिजमलाई भारतीय बजारसँग जोड्न सके वार्षिक ५० लाख पर्यटक भित्र्याएर देशको आर्थिक क्षेत्र चलायमान बनाउन सकिने बजिमयको दाबी छ ।
नेपाल होटल व्यवसाय महासंघका महासचिव राजेश महोत्राले अर्बौं रूपैयाँ लगानी गरेर निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई निष्क्रिय अवस्थामा छाड्नु राष्ट्रकै लागि घाटाको विषय भएको बताए । निजी क्षेत्रले धार्मिक, सांस्कृतिक, खेलकुद तथा बौद्ध पर्यटनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने विभिन्न योजना तयार गरिसकेको भए पनि सरकारी पहल र कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ ।
उनले भैरहवा–लुम्बिनी क्षेत्रमा होटेलहरूको अकुपेन्सी सन्तोषजनक रहे पनि अन्तर्राष्ट्रिय उडान अभावका कारण पर्यटन क्षेत्रले पूर्ण लाभ लिन नसकेको बताए । “एयरपोर्ट चल्यो भने मात्रै यस क्षेत्रमा भएको अर्बौंको निजी लगानीले गति लिन्छ। विमानस्थल सञ्चालन भए निजी क्षेत्र नयाँ पर्यटन प्याकेज, विदेशी साझेदारी र थप लगानीका लागि तयार छ,“ महोत्राले भने ।
महोत्राका अनुसार सरकारले बजेट र नीतिगत दस्तावेजमा बुटिक एयरपोर्ट लगायतका योजना उल्लेख गरे पनि ती कार्यान्वयनमा आउन सकेका छैनन् । भिसा सेन्टर, अन्तर्राष्ट्रिय एयरलाइन्सका सम्पर्क कार्यालय र पर्यटकमैत्री सेवाको अभावले पनि विमानस्थल सञ्चालनमा समस्या थपिएको उनले बताए ।
“भैरहवा र लुम्बिनी पर्यटनका हिसाबले सुनसान छैनन्, तर अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय हुँदा यस क्षेत्रको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन,“उनले भने, “अब सरकारले प्रतिबद्धता होइन, परिणाम देखाउनुपर्छ ।”
अब गठन भएको नयाँ सरकारले केवल बजेट र घोषणापत्रमा आश्वासन दिएर वा ‘बुटिक एयरपोर्ट’ बनाउने गफ गरेर मात्र पुग्दैन ।
पर्यटन व्यवसायीहरूले भिसा सेन्टर, श्रम कार्यालय, मेडिकल केन्द्र तथा एयरलाइन्सका स्थानीय बिक्री कार्यालय भैरहवामै स्थापना गर्न, बेलहिया अध्यागमनको क्षमता विस्तार गर्न तथा नेपाल पर्यटन बोर्डको स्थायी उपस्थिति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।