Butwal Today

मदर टेरेसा, अमरेश कुमार र मिठो विष

४ असार २०८३, बिहीबार
अ+
अ-

मैले प्रशंसा गरेर स्ट्याटस राखेको देखेर कोही एक जना मधेशतिरकै साथीले भन्नुभयो – अमरेशजी मीठा विष हुन् । उनको उद्देश्यका बारेमा तपाईँहरू अलि अनभिज्ञ नै हुनुहुन्छ । मैले पनि उहाँलाई कसरी भन्नतिर नलागी भनेँ – हो मलाई पनि शङ्का नभएको त हैन ।

तर पनि हालमा आएर राम्रा राम्रा कुराहरू गरेका हुनाले उहाँका राम्रा कुराको यसो सपोर्ट गरेर राखेको मात्र हो । उहाँले अगाडि भन्नुभयो – भारतमा मोदी आएर केही चेतना नफैँलाउँदा सम्म मदर टेरेसाप्रतिको विचार पनि भारतीयहरूको यस्तै थियो ।

मदर टेरेसालाई धर्म छाडेर क्रिश्चियन भएकाले त पुजेरै राख्ने भए तर जो आफुलाई कट्टर हिन्दू सम्झन्थे उनीहरूलाई पनि यसका बारेमा पत्तै थिएन । अझ आफुलाई धर्मनिरपेक्षताका पुजारी सम्झनेहरूलाई त भन्नै परेन । उनीहरू नवक्रिश्चियनभन्दा पनि कट्टर भएरै उनलाई सेवकका रूपमा मुक्तकण्ठले नै प्रशंसा गर्ने गरे ।

आफ्नो शासनव्यवस्थामा सेवाका नाममा मिसिनरी खोलेर क्रिश्चियन धर्मको प्रचार र प्रसार गर्ने मदर टेरेसाको जीवनी नै पाठ्यक्रममा राखेर पढाए । तर हालमा भारतमा मदर टेरेसाको सेवा के का लागि रहेछ त भनी केहीले बुझेका छन् । तर के गर्ने बुझेर ? समय धेरै अगाडि गइसकेको छ । हजूरबा नै क्रिश्चियन भएको परिवारको नातिले आफुलाई जतिसुकै तेरो धर्म त त्यो थियो भने पनि सजिलै मान्नेवाला छैन ।

भारतवर्ष अन्तर्गतका भारत देशका राजस्थान, गुजरात, पश्चिम वंगाल, तमिलनाडु, केरल इत्यादि प्रदेशहरू, जहाँ अध्यात्मका प्रवचन चल्थे । त्यहाँ भौतिक आनन्द भन्दा पनि आध्यात्मिक आनन्दलाई प्रमुख मानिन्थ्यो । तिनै प्रदेशमा पैसाका प्रलोभनमा अधिकांश क्रिश्चियन भएका छन् ।

मठ मन्दिरको देश चर्चमय भएको छ । भारतका लगभग पाँचवटा प्रदेशमा असी प्रतिशतभन्दा बढी क्रिश्चियन धर्मावलम्बी भएकाले प्रदेशको राष्ट्रिय धर्म नै क्रिश्चियन भएको छ । हिन्दूत्वका कुरा गर्ने केन्द्र सरकारका प्रमुख नै बाध्यतावश चर्चमा जानुपर्ने भएको छ । भारतमा भएको मदर टेरेसाको प्रभाव नेपालमा पार्नका लागि उनी पछिकी मदर चाहिँ झापातिरबाट भारत गएकी सिस्टर निर्मलालाई बनाइयो ।

उनै मदर टेरेसा पछिकी सिस्टर निर्मलाका प्रभावले पूर्वी नेपालका धेरै नेपालीहरू क्रिश्चियन धर्मतिर लागेका पनि छन् । २०६२/०६३ पछि यहाँ भएको शासकीय परिवर्तनको कारणको एक कारण नेपालमा चलेको दशवर्षे युद्ध भयो । सो युद्धका समयमा गाउँतिरका सोझा नेपालीहरूलाई उनीहरूको गरीबीको कारण नै यहाँको धर्म संस्कार हो भन्न सिकाई नास्तिक बनाइयो भने युद्धपछि शान्ति फैलाउन ल्याइएका विदेशी आइएन्जीओका माध्यमले उनीहरूलाई क्रिश्चियन बनाइयो ।

भारतमा मदर टेरेसाका रूपमा भएको परिवर्तन यहाँ टेरोरिजम् र त्यसलाई शान्त गर्ने उद्देश्यका रूपमा भएका संघ संस्थाहरूले गराए । नेपालमा पनि भारतको तात्कालिक सरकारका प्रभावमा आदर्शका रूपमा मानिँदै आइएकी मदर टेरेसा नेपालीहरूका माझ इष्टदेवीकै रूपमा स्थापित भइन् । पहिले शासनसत्तामा रहेको काङ्ग्रेस आइ र कम्युनिष्ट सरकारले उच्च सम्मानका रूपमा राखेता पनि अहिलेको सरकारले उनलाई त्यति महत्त्व दिएको चाहिँ छैन ।

तर पनि अन्तराष्ट्र नै क्रिश्चियन नीतिमा चल्दै गर्दा र आफ्ना केही प्रदेशहरूमा नै क्रिश्चियन बहुमतमा रहेकाले चाहेर पनि उनलाई भारतको केन्द्र सरकारले तत्काल त्याग्न सकेको छैन । तर पनि भाजपा शासित प्रदेश सरकारहरूले यस सम्बन्धमा भित्र भित्रै काम गरेको देखिन्छ भने कतै गर्नै नमिल्ने स्थानहरूमा आफ्ना भातृ सङ्गठनहरूद्वारा पनि कुटनैतिक तरिकाले स्वधर्म त्यागेर विधर्मी भएकाहरूलाई फर्काउने अभियान चाहिँ चलाइएको छ ।

दोस्रो प्रसङ्गतिर लागौँ । नेपालको प्रधानमन्त्रीका रूपमा बालेन शाह वरण भइसकेपछि जनताको असन्तुष्टि संविधानसँग पनि भएकाले यसलाई संशोधन गर्न भनी उनकै सल्लाहकार असिम शाहका संयोजकत्वमा संविधान संशोधन सुझाव समिति बनेको छ ।

अनि त्यसले आफ्ना कार्यहरू गरिरहेको पनि छ । जानकारी अनुसार त्यस समितिमा संविधानमा तुरुन्त संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने र प्रदेशहरू खारेज गरी नेपाललाई पुरानै मोडलमा लैजाने भन्ने खालका सुझाव सबैभन्दा धेरै आएका छन् भन्ने बुझिएको छ ।

यी सुझावहरूलाई प्रधानमन्त्री बालेन शाहले गम्भीर रूपमा लिनुभई धेरै संविधानविद्हरूसँग सल्लाह पनि गरिरहनु भएको विषय पनि बाहिर आएको छ । यसले गर्दा नेपालमा प्रदेशात्मक निरपेक्ष संविधानको व्यवस्था ल्याउने मध्येका एक जना योजनाकार अमरेश कुमार सिंह सबैभन्दा बढी रिसाएका र उनले प्रधानमन्त्रीका सल्लाहकार असिम शाहलाई संविधान संशोधन गरेर देखाउन च्यालेन्ज गरेको कुरा त हामीले सञ्चार माध्यमबाट देख्यौँ र सुन्यौँ पनि ।

त्यस्तै अर्का योजनाकार डा. बाबुराम भट्टराईले यो कुरालाई प्रत्यक्ष रूपमा भन्न नसकेपछि उनले पनि आफ्ना स्ट्याटसमा अप्रत्यक्ष रूपमा लेखेर अमरेशबाट त्यो कुरा भन्न लगाए भन्ने कुराको चर्चा पनि बजारमा व्याप्त छ । उनीहरू यस्तै कामका लागि फरक फरक पार्टीमा भए पनि उद्देश्य त एकै हो भन्ने कुरा उनीहरूका व्यवहारले देखिएकै हो ।

त्यसैले अधिकांश जनताको माग अनुसारको संविधान संशोधनको विषयमा चर्चा गर्दा अमरेशजीको टाउको दुख्नु नै उनी माथि शङ्का गर्नुपर्ने प्रमुख कारण देखिन्छ । किनकि जुनसुकै देशमा पनि देश चाहिँ प्रमुख र स्थिर हुन्छ भने संविधान गौण र अस्थिर हुन्छ ।

परिस्थितिअनुसार संविधान परिवर्तन हुनु सामान्य नै मानिन्छन् । देश गौण र संविधान प्रमुख भयो भने देश टुक्रिएको या अर्कै देशमा विलय भएको त हामीले हाम्रो नजिकै नै देखेको विषय हो । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई खोजेर ल्याई पार्टीमा प्रवेश गराएको नभई उनी नै रास्वपा, रवि र वालेनसँग नजिक भएका हुन् भन्ने कुरा आएको छ । अमरेश कुमारजस्ता मानिसहरू उनीहरूको उद्देश्य अनुसारको कामका लागि शक्तिशाली पार्टीमा प्रवेश गर्ने गरेको त यस अघिका धेरै उदाहरणहरूले पुष्टि पनि गर्दछन् ।

त्यसैले जेन्जी आन्दोलनपछिको माहोल राम्रोसँग बुझेका अमरेशले स्वतन्त्र पार्टीमा जानका लागि ढिला नगर्नुको मुख्य कारण पनि यही हो भन्ने कुरा विश्लेषकहरूले बताउँदै आएका छन् । संविधान खारेज गर्ने भन्ने पृष्ठभूमिबाट आएको जनादेशका कारणले बनेको सरकारले गर्न लागेको संविधान संशोधनको कार्यलाई रोक्ने उद्देश्य राख्नु नै उनको रास्वपा प्रवेशको कारण भएको देखिन आएको छ ।

त्यसैले पनि उनले चुनाव प्रचार प्रसारका क्रममा बालेनलाई त्यस समयमा जनकपुरमा भएको जनसभामा एउटा जटिल कुरा पनि भन्न लगाएका छन् । त्यो हो – काठमाडौँ जान नपर्ने गरीको मधेशको स्वायत्तता । बालेनले त्यतिखेर त ठिकै भन्ने सम्झी भाषण गरिहाले । तर जब यसको रहस्य राष्ट्रवादी बालेनले विस्तारै बुझे अनि अमरेशबाट विस्तारै टाढा हुँदै गए ।

जसको फलस्वरूप मन्त्रीका रूपमा व्यापक नाम सुनिएका अमरेशलाई मन्त्रीमण्डलमा नै राखेनन् । अझ हालमा त खासै भेट गर्न पनि मानिरहेका छैनन् भन्ने नै बाहिर आएको छ । यही गुह्य कारणले गर्दा नै अमरेशको पछिल्लो पटकको प्रतिक्रिया आएको हो भनी विश्लेषकहरूले बताएका छन् ।

मानिसहरूले नेपालमा अधिकांश नेताहरूलाई भारततिरको ट्याग लगाइदिने गरेका छन् । हो भारत छिमेकी भएकाले यहाँ उसको प्रभाव राम्रै छ । तर अहिले नरेन्द्र मोदीलाई गाली गर्नका लागि नेपाली भनिएका नेताहरूको नाम उनीसँग जोडेता पनि त्यो कुरा चाहिँ राजनीति कत्ति नबुझ्ने केही मानिसहरूको विश्लेषण हो । तर अधिकांशको यस किसिमको विश्लेषण चाहिँ काङ्ग्रेस आइ र कम्युनिष्टका निर्देशन अनुसार बनेको संविधानको रक्षाका लागि हो ।

हो यस्तैमा पर्दछन् – डाक्टर अमरेश कुमार सिंह । उनी नेपालमा कुनै पनि हालतमा हिन्दू राष्ट्रको संविधान ल्याउने पक्षमा छैनन् । त्यत्रा वंगाली र रोहिङ्ग्या इत्यादिलाई नागरिकता दिँदा पनि उनी चुइँक्क बोलेनन् । त्यति मात्र होइन मधेशमा धर्म परिवर्तनको लहर चलाइँदा पनि उनी त्यसका विरोधमा उत्रँदैनन् । यदि हिन्दूत्वका नजिक भएर या प्रदेशहरू खारेज या सुधार गरेर संविधान संशोधन गरियो भने लौ पहाडेले मधेशीलाई हेपे भनी मधेश तताउने योजनाको तयारीमा उनी रहेका छन् ।

हालका भारतीय शासकहरूसँग उनी नजिक पनि छैनन् र त्यहाँको सरकारी नीतिका समर्थनमा पनि उनी छैनन् । अनि मधेशमा हालमा सिके, उपेन्द्र र अमरेशका तीन ग्रूप देखिता पनि यी सबैको उद्देश्य एउटै छ । त्यो हो – मधेशको स्वायत्तता । तर मधेशको राजनीति राम्ररी बुझेका मधेशका केही त्यागी नेता र भारतको हालको सरकारसँग नजिकै रहेर नेपाल भारतका साझा विषयमा काम गर्दै गरेका संस्था र सङ्गठनहरू पनि यी तीनै ग्रूपका नेताहरूका कुरामा सकारात्मक छैनन् ।

किनकि उनीहरूले राम्रै बुझेका छन् – यिनीहरूको सम्बन्ध सात समुद्र पारको अमेरिका र त्यसकै पदचिह्नलाई हुबहु कपि गरेर चलेको भारतकै प्रतिपक्षी काङ्ग्रेस आईसँग छ । वास्तवमैँ भन्नुपर्दा पनि यी मधेश केन्द्रित राजनीति गर्नेहरूको उद्देश्य मधेशलाई स्वायत्त प्रदेश गराउँदै परदेशतिरै लैजान्छन् कि भन्ने आशंका सिके रावतको स्वतन्त्र मधेश छुट्टै मधेशको नाराले पैदा गराएको पनि छ ।

भारतवर्षको जुटाईको सुलेसन हिन्दूत्व हो र यो हिन्दूत्वको बलियो पन २०६२÷०६३ पछि मधेशमा नै कमजोर गराइएको छ । त्यसैले यी निरपेक्ष राज्यको वकालत गर्ने अमरेशहरू र उनैका भित्रभित्रैका सहयोगीहरू संविधान संशोधन गर्ने विषय आउँदा यसरी हड्बडाउन थालेका हुन् । द्वन्द्वद्वारा नेपाललाई अति नै धेरै पछाडि पारेकाहरू पनि तर्सिएका हुन् ।

मधेशमा बस्ने हिन्दू दाजुभाइ र पुराना नेपाली मुसलमान जसले आफुहरू हिन्दूत्वमा सुरक्षित छौँ भन्ने बुझेका छन् उनीहरू पनि सुशासनका मीठा कुरा गरेर जनतालाई प्रभावमा पारी काम चाहिँ अर्कै गर्ने अमरेशहरू सेवाको टाउको देखाएर काम चाहिँ धर्मान्तरण गर्ने मीठो विष मदर टेरेसासँग ट्याक्क मिलेको अनुभूति गरेका छन् । तर पनि देशलाई माया गर्नेहरूले देश ठूलो भन्ने जानून् र संविधान परिवर्तनीय नियम भन्ने जानून् । यसो गर्दा सबैको कल्याण होला । जय देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?